नाउपामा फेरि किचलो, रेशम पक्षका सांसद निलम्बित
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक किचलो फेरि बल्झिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी जुटेसँगै केही मत्थर भएको विवाद मुख्यमन्त्रीको विषयले फेरि बल्झिएको हो ।
माओवादी-एमाले नेतृत्वको सत्ता गठबन्धनमा रहने कि कांग्रेससहितको विपक्षी मोर्चामा बस्ने भन्ने विवादले नाउपा झन्डै फुटको स्थितिमा पुगेको थियो । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्ने पक्षमा उभिँदा संस्थापक नेता रेशम चौधरी कांग्रेसलाई साथ दिने अडानमा थिए । दुबै पक्ष आ-आफ्नो अडानमा टसमस नहुँदा अघिल्लो हप्ता सो पार्टीको बैठकमै कुटाकुटसमेत भएको थियो ।
अन्तत: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिएर केन्द्रीय सत्ता गठबन्धनलाई समर्थन गर्ने रञ्जिताको लाइनमा रेशम पक्ष पनि आएपछि किचलो साम्य भएको थियो । तर, पार्टीबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दुबै पक्ष आ-आफ्नै तयारीमा जुटेको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको नाउपासँग ७ सांसद रहेकोमा इन्दिरा गिरीलाई फिर्ता बोलाएपछि अहिले ६ जना छन् । समानुपातिक सांसद गिरीको ठाउँमा अर्कोलाई निर्वाचित गराउने तयारी छ ।
रेशम पक्षले लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । सो पक्षका चार जना प्रदेश सभा सदस्यले सहमतिसमेत गरिसकेको बताइएको छ । रञ्जिताले भने कैलाश चौधरीलाई अघि सार्ने तयारी गरेकी छन् । यसैबीच अध्यक्ष रञ्जिताले सांसद घनश्याम चौधरीलाई पदबाट निलम्बन गरेकी छन् । आज सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको जानकारी दिएकी हुन् ।
पत्रमा पार्टीको अति महत्त्वपूर्ण र गम्भीर विषयमा छलफल गर्न पटक-पटक बोलाएकोमा चौधरी उपस्थित नभएको र स्पष्टीकरण पनि चित्तबुझ्रदो नभएकोले निलम्बन गरिएको उल्लेख छ । उनी रेशम पक्षका हुन् ।
टिप्पणीहरू