पटक–पटक उही मान्छे प्रिय

पटक–पटक उही मान्छे प्रिय
सुन्नुहोस्

हैन, एक साधारण व्यक्तिले कति पटक, कति वटा राजनीतिक नियुक्ति खान पाउँछन्, सक्छन् हँ ? सर्वसाधारणले त चियाउनै पर्दैन, कार्यकर्ता, त्यो पनि खाँटी, नेताका नजरमा परेकाले मात्र पाउने हो त्यस्तो नियुक्ति खान पाइने, हाम्रो नेपालमा । एक पटक होइन, दुई, तीन, चार चार पटकसम्म धेरै समय कुर्नै नपाई एकै व्यक्तिले त्यस्तो चान्स पाइरहन्छ।पाइरहन्छे भने उस।उनमा विशेष योग्यता नै छ भनी मान्नुपर्ला नि !

कुनै बेला नेपाल टेलिभिजनमा समाचार वाचिका र गायिका शाक्य नेपाल परराष्ट्र मामिला प्रतिष्ठानको नायब कार्यकारी निर्देशक भइन् । त्यसपछि इजरायलका लागि नेपाली राजदूत । अनि राष्ट्रिय योजना आयोगमा सदस्य मनोनयन सिफारिस र अहिले राष्ट्रियसभामा मन्त्रिपरिषद्बाट सिफारिस हुने तीनमध्ये एक सदस्य । पति अजयक्रान्ति शाक्य बागमती प्रदेशसभा सदस्य । अजय नेकपा (एमाले)मार्फत राजनीतिमा सक्रिय भए पनि अञ्जान कुनै राजनीतिक आन्दोलन, अभियान, सङ्घर्ष, प्रशिक्षण आदिमा सुनिएको नाम होइन । उनैलाई छानी छानी एक कम्युनिष्ट पार्टीले कति पटकसम्म अवसर दिन सकेको र उनी आफैँले आफूबाहेक अरूलाई मौका दिनका लागि किन भन्न नसकेको ?

दुःख गरेका, अवसर नपाएका त अरू पनि होलान् नि ? झापा आन्दोलनका नरेश खरेल र मनकुमार गौतमले भने त्यत्तिकै सड्नुपर्ने ? एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कस्तो मुटु जसले भीमबहादुर रावल र घनश्याम भुसालजस्ता प्रभावशाली नेतालाई टिकट दिन चाहेनन् । त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भर्खर एमाले प्रवेश गरेकी कोमल ओलीले सो सभामा मौका पाइन्, सावित्रा भुसालले पाइनन् । अहिले शाक्य नै त्यसमा छानिन सक्ने, कर्णालीका कुनै सङ्घर्षशील योद्धा पछारिनुपर्ने कस्तो खेल हो यो ?

हुन त यस मामिलामा पुष्पकमल दाहाल पनि कम होइनन् जसले छोरीलाई भरतपुर महानगरपालिकामा शुरुमा पूरै विश्वले देखिने गरी र दोस्रो पटक शक्ति देखाएर मेयर बनाए, ज्वाइँलाई कोशी प्रदेश सरकारको पर्यटनमन्त्री बनाए । शेरबहादुर देउवाले पत्नी आरजु राणालाई प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत भिœयाए । त्यसअघि लोकेन्द्रबहादुर चन्दले छोरा जयन्तलाई मन्त्री बनाए, सूर्यबहादुर थापाले सुनिललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाए, अहिले जो राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार छन् । अनि गणेशमान सिंहले पनि पत्नी र पुत्रलाई प्रतिनिधिसभा निर्वाचनमा टिकट दिलाए तर दुवै पराजित भए । धर्मपुत्र पिएल सिंह भने काठमाडौँ महानगरपालिकाको मेयर भए, नाता पर्ने दुर्गेशमान सिंह बेल्जियमका लागि राजदूत बनाइए । 

अघिल्लो नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहपत्नी दुर्गा पौडेललाई राष्ट्रियसभामा एक सिट दिने भएको थियो । एमालेसहितको नयाँ गठबन्धन बनेपछि ओलीले सिंहलाई व्यङ्ग्य पनि गरे, कोही कोही नेता पत्नी सांसद नबन्ने भएपछि रोएको रोयै छन् भन्दै । उनले सिंहको वामपन्थको सक्कली अनुहार देखिएको भनी खिसी पनि गरे । महात्मा गान्धीमाथि पनि सुवासचन्द्र बोसका सट्टा जवाहरलाल नेहरू र उनकी छोरीलाई अघि बढाएको दोष छ । नेपाली राजदरबारले रेडक्रसदेखि पशुपति क्षेत्र विकास कोषसम्मका आकर्षक संस्थामा आफ्नै परिवारका सदस्यलाई राखेको स्मरणीय नै छ । 

नेपाली राजनीतिक दलहरूकै शीर्ष नेताहरूको सिको सिकेर अन्य संघीय मन्त्रीले पनि भाइभतिजा, बुहारी, नन्द आदिलाई राजनीतिक नियुक्त दिलाए भने प्रदेश र स्थानीय तहहरूमा मेयर, डेपुटी मेयर आदिले कुलकुटुम्ब, आफन्त, इष्टमित्रलाई प्रदेश–तहको कर्मचारीमा नियुक्ति दिलाए । हाम्रा नेताले दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाले पत्नी बिन्नीले राजनीतिक पदको दुरूपयोग गर्ने आशंका गर्नासाथ उनीसँग सम्बन्धविच्छेद नै गरेको तथ्य थाहा पाएनन्, या बिर्से या थाहा नपाएजस्तो गरे । तिनमा निष्पक्षता, विवेक, त्याग भन्ने भाव त उहिल्यै अन्त्य भइसकेको हो । माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी छाडेर हिँडेको त्यसै होइन । शाक्यको नियुक्ति प्रसङ्ग दुई चार दिनपछि सकिए पनि ओली प्रवृत्तिको भने सधैँ स्मरण नै रहनेछ । आसेपासेले मुखले विरोध गर्न नसके पनि भित्रभित्र मुर्मुरिएर कतिसम्म बस्न सक्लान्, हेरौँ न त !

– चूडामणि कौशिक
 

टिप्पणीहरू