दिपेश पुनसहित ६ धरौटीमा रिहा, सुप्रिमका अध्यक्षलाई थुनामा पठाउन आदेश

दिपेश पुनसहित ६ धरौटीमा रिहा, सुप्रिमका अध्यक्षलाई थुनामा पठाउन आदेश
सुन्नुहोस्

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको हो । 

जिल्ला न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आदेशमा दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको मागिएको छ । 

गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको सुप्रिम सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश गत चैत २ गते साँझ काठमाडौँको धापासीबाट पक्राउ परेका थिए । मुख्य आरोपित जिबी ऱाई र सहकारीका व्यवस्थापक सागर केसी भने अझै फरार छन् ।

यता,सहकारीका पीडितहरूले 'सुप्रिम सहकारी पीडित संघर्ष समिति' नै गठन गरेर आन्दोलन गरिरहेका छन् । सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्वअध्यक्ष राईसहितका प्रतिवादीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न पीडितहरुले माग गर्दै आएका छन् ।

टिप्पणीहरू