प्रहरीको यातनाले मर्न बाध्य भएको भिडियो भाइरल,सत्यता नभएको दाबी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दा प्रहरीले मर्न बाध्य बनाएको भन्दै अस्पतालको बेडबाट एक युवक बोलिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । 
नाकमा पाइप जोडिएकै अवस्थामा बनाइएको भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको छ । 

नेपाल प्रहरीको साइबर ब्यूरोले यातना दिएर आफूलाई मर्नुपर्ने स्थितिमा पुर्याएको उनको आरोप छ । ती युवक हुन्,गणेशमान सिंह । जाजरकोटको साविक टालेगाउँ गाविस वडा नम्बर ७ घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय उनको वीर अस्पतालमा उपचार भइरहेको छ । 

सोधपुछका लागि बोलाएपछि हिजो बिहान ब्यूरोमा उपस्थित उनले प्रहरीले अनेकौं यातना दिएको भिडियोमार्फत बताएका छन् । सिंहका अनुसार उनले फेसबुकमा गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीसँग सम्बन्धित कमेण्ट लेखेका थिए । 

सो कमेण्ट लेखेको पनि दुई–तीन महिनै भइसकेको उनको भनाइ छ । सोबारे सोधपुछ गर्न बोलाएर प्रहरीले यातना दिएको उनी बताउँछन् । ब्यूरोले ६–७ वर्ष थुन्ने धम्की दिएकोले बाध्य भएर औषधी सेवन गरेको उनको दाबी छ ।

उहाँ ब्यूरो आउनुभन्दा अगाडि एउटा स्ववियु नेतालाई म अब ब्यूरोमै मर्छु भन्नुभएको रहेछ । ती नेताले मलाई फोन गरेर सबै कुरा बताएपछि हामीले पानी खान दियौं । सिपाहीले सोध्दा दुई स्ट्रिप सिटामोल खाएर आएको भन्नुभएको रहेछ । 

उनले भनेका छन्,‘मैले गृहमन्त्रीबारे फेसबुकमा सहकारी ठग भनेर कमेण्ट गरेको थिएँ दुई–तीन महिनाअगाडि । अस्ति साइबर ब्यूरोले मलाई बोलायो । हिजो बिदा भयो । आज बिहान मोबाइल लिएर आइज भन्यो । मोबाइल लिएर गएको बेला अनेकौं प्रश्न सोध्यो । तलाई जेल हाल्छौं ६–७ वर्ष । गृहमन्त्रीको विरुद्ध बोल्ने ? सहकारी ठगेको तसँग के प्रमाण छ । तलाई जेल हाल्छौं । सम्माननीय गृहमन्त्रीलाई चिन्छस्लगायत हजारौं प्रश्न सोध्यो र साइबर ब्यूरोकै ढोकामा औषधी सेवन गर्न बाध्य भएँ ।’

उक्त भिडियोले अहिले सामाजिक सञ्जाल भरिपूर्ण छ । आम सर्वसाधारणको अभिव्यक्ति राख्न पाउने हक पनि खोसेको भन्दै हाल प्रहरीको चर्को विरोध भइरहेको छ । यता, ब्यूरोले भने विज्ञप्ति निकालेर उक्त आरोपको खण्डन गरेको छ । 

हिजो बिहान १० बजे ब्यूरोमा उपस्थित भएका उनी औषधी सेवन गरेरै आएको विज्ञप्तिमा उल्लेख छ । ब्यूरोका अनुसार उनलाई सहकारीको विषयमा नभई सामाजिक सञ्जालमा अश्लिल सामग्री पोष्ट गरेको विषयमा सोधपुछ गर्न बोलाइएको थियो । 

‘ऋषिराज झा नामक फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरी हैरानी दिएको सम्बन्धमा यस कार्यालयमा परेको उजुरीउपर अनुसन्धानको क्रममा ऋषिराज झा नामको फेक फेसबुक एकाउण्ट उल्लेखित व्यक्ति गणेशमान सिंहले सञ्चालन गरी उक्त अश्लिल सामग्रीसमेत प्रकाशन गरेको विषयको अनुसन्धानको क्रममा निजलाई यस कार्यालयमा उपस्थित हुन अनुरोध गरिएकोमा, मिति २०८१–०१–१२ गते १०ः०० बजे यस कार्यालयमा उपस्थित हुनासाथ निजको साथीले फोनमार्फत ‘निजले मलाई तनाव भयो भनी गएको छ’ भनी यस ब्यूरोमा खबर गरेपश्चात् सोधखोज गर्दा निजले दुई स्ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालै उपचारको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आकस्मिक कक्षमा पठाइएको’, विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, ब्यूरोले सो भिडियोमा कुनै सत्यता नभएको दाबी गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले उनले ब्यूरोलाई बद्नाम गर्न खोजेको बताए । औषधी सेवन गरेरै आएका उनले पहिले नै आफ्नो साथीलाई जानकारी गराएको र ती साथीको आफूलाई फोनसमेत आएको अवस्थी बताउँछन् । 

‘उहाँले ब्यूरोलाई बद्नाम गर्न खोज्नुभएको छ । उहाँ औषधी सेवन गरेरै आउनुभएको रहेछ । पहिलो कुरा त के भने विद्युतीय कसूर गरेकाको हकमा पाँच वर्षभन्दा धेरै सजाय हुँदैन । त्यसैले ६–७ वर्ष हामीले भन्ने कुरै भएन ।  उहाँ ब्यूरो आउनुभन्दा अगाडि एउटा स्ववियु नेतालाई म अब ब्यूरोमै मर्छु भन्नुभएको रहेछ । ती नेताले मलाई फोन गरेर सबै कुरा बताएपछि हामीले पानी खान दियौं । सिपाहीले सोध्दा दुई स्ट्रिप सिटामोल खाएर आएको भन्नुभएको रहेछ । अनि हामीले तत्काल उहाँको मामालाई बोलाएर अस्पताल पठाएका हौं’, उनले भने । 

उनलाई हिजो सोधपुछका लागि मात्र बोलाइएको अवस्थीको भनाइ छ । यस विषयमा थप अनुसन्धान गरिने उनले जानकारी दिए । सिंहको फेसबुक प्रोफाइलमा उनले आफूलाई पत्रकार उल्लेख गरेका छन् ।

टिप्पणीहरू