विद्यार्थीको प्रवेशपत्रमा 'केरमेट' गर्ने प्रिन्सिपल पक्राउ

विद्यार्थीको प्रवेशपत्रमा 'केरमेट' गर्ने प्रिन्सिपल पक्राउ
सुन्नुहोस्

काठमाडौंको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् । 

कक्षा १२ को परीक्षा दिने परीक्षार्थीको प्रवेशपत्रमा 'गोलमाल' गरेको आरोप लागेका उनलाई प्रहरीले केही बेरअघि धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो । प्रिन्सिपल महतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । 

उनलाई अहिले प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको पनि उनले जानकारी दिए । 

यसवर्ष १२ को परीक्षा दिने विद्यार्थीको प्रवेशपत्रमा १२ कक्षा उत्तीर्ण भइसकेका विद्यार्थीको फोटो टाँसेर राष्ट्रिय परीक्षा बोर्ड पठाएको भन्दै पुराना विद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए । आफ्नो भाइसहित अन्य विद्यार्थी फेल हुने भएपछि महतले नक्कली परीक्षार्थी खडा गरेको बुझिएको छ । 

यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि उजुरी परेको थियो ।
 

टिप्पणीहरू