एकल महिला पीडामा, पीडक सुविधाजनक क्याबिनमा

एकल महिला पीडामा, पीडक सुविधाजनक क्याबिनमा
सुन्नुहोस्

भैरहवामा महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले छुट्ने सजिलो उपाय अवलम्बन गर्न थालेका छन् । अभियुक्त सिद्धार्थ गुरुङ प्रहरी र सरकारी वकिलको सेटिङमा लागेको बताइन्छ । उनको निर्देशनमा परिचालित विभिन्न टोलीले पालैपालो प्रहरी अधिकृत र सरकारी वकिललाई भेट्न गएको तथ्य खुलेपछि गुरुङको योजना बाहिर आएको हो ।

गुरुङले पीडित महिलालाई साढे तीन वर्षदेखि प्रयोग गरेको र उनकै सहयोगमा अमेरिका पुगेको बताइन्छ । विश्वासमा परेपछि महिलाले सारा संसार सुम्पन्छन् भन्ने जनश्रुतीलाई पुष्टि गर्दै ५३ वर्षीया महिला सिद्धार्थको चंगुलमा परेकी विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । सामाजिक र आर्थिक हिसाबले उच्च हैसियतकी ती महिलालाई बुटवलका ३६ वर्षे सिद्धार्थले दिएको दुःखको कथा निकै पीडादायी भएको सुनिन थालेको छ ।

एकल महिलालाई वर्षौंदेखि दुःख दिएका सिद्धार्थ पक्राउ परेपनि प्रहरी हिरासतमा छैनन् । बुटवलको चर्कोे गर्मीमा उनी होटलको एसी डिलक्स रुम सरहको अस्पताल क्याबिनमा छन् । बिरामी भन्दै सिद्धार्थ भैरहवाको सिटी अस्पतालको आरामदायी कोठामा बसेको देखिन्छ । उनले हिन्दी सिरियलमा झैँ एक सम्पन्नशाली महिलालाई आफ्नो योजनामा पार्न सफल भएको प्रहरीको अनुसन्धानबाट पनि खुलेको छ । 

अस्पतालको आरामदायी कोठामा बसेका उनका आफन्तहरु दिनहुँ सरकारी वकिल र प्रहरी अधिकृतकोमा पुगेर अनुरोध, दबाब र प्रभावको राजनीति गरेको बताइन्छ । सामान्यतयाः जबरजस्ती करणीको अभियोग लागेकालाई सरकारी वकिलले अभियुक्तका नातेदारलाई भेट्दैनन् । सरकारी वकिललाई भेटेर निस्किएपछि उनीहरुले छिट्टै सिद्धार्थ छुट्ने बताउनुले पनि घटनालाई रहस्यमयी बनाइदिएको हो ।

जबरजस्ती करणीको मुद्दा कम्तीमा तीन साताको अनुसन्धानपछि मात्रै अदालत पठाउने प्रचलनको सट्टा यो मुद्दालाई छिट्टै त्यता पठाउने तयारी भइरहेको बुझिएको छ । एकल महिलासँग विवाह गरेका गुरुङ पहिले नै विवाहित हुन् । पीडित महिलाले सिद्धार्थले आफ्ना केही निजी फोटो र भिडियो गोप्य रुपमा खिचेको आरोप छ । सोही भिडियो र तस्बिर देखाउँदै उनले वर्षौंदेखि आफ्नो स्वार्थ पूरा गरेको महिलाले बताइन् । 

सबैथोक मानेपछि पनि आफ्नो तस्बिर र भिडियो डिलिट नगरेकाले आफूले प्रहरीकोमा उजुरी दिएको पीडित महिलाको भनाई छ । सिद्धार्थले खोलेको वैभव लक्ष्मी इन्टरनेसनल कम्पनी पनि महिलाको सम्पत्ति बेचबिखनपछि सञ्चालनमा ल्याएका उनले भसुधारा निर्माण सेवा चलाउँदै आएका छन् । बुटवलमा इटल्ली मोमो पसल र गाउँले चुल्हो समेत महिलाकै सम्पत्तिमा जोडेको बताइन्छ । 

सिद्धार्थको पहिलेकी श्रीमतीबाट समेत एउटी छोरी छन् । विवाहित पुरुषले एकल महिलालाई पहिले दिदीको साइनो लगाएका थिए भने त्यसपछि साथी । श्रीमतीको हैसियत दिएपछि सम्पत्ति आफ्नो नाममा बनाएपछि सम्पर्कबाट टाढिन थालेको महिलाको भनाई छ । 

घटनाक्रमले अभियुक्त प्रहरी र सरकारी वकिललाई आफ्नो प्रभावमा पार्न उद्दत देखाउँछ । तर अब्बल प्रहरी अधिकृतको पहिचान बनाएका रुपन्देही प्रहरी प्रमुख एसपी रन्जित सिंह ठाकुर र सरकारी वकिललाई सिद्धार्थले प्रभावमा पार्नसक्ने सम्भावना कम रहेको बताइन्छ । जनआस्था साप्ताहिककाे हिजाेकाे अंकमा ‘ती महिलामाथि यतिसम्म भएछ अत्याचार’ शीर्षकमा प्रकाशित उक्त समाचारको सत्यतथ्य आगामी केही साताभित्र सार्वजनिक हुने निश्चित छ ।

टिप्पणीहरू