किर्ते कन्सल्टेन्सीबाट साढे दुई करोड ठगि, कुवेतको आश देखाएर भारतमा यौनशोषण

किर्ते कन्सल्टेन्सीबाट साढे दुई करोड ठगि, कुवेतको आश देखाएर भारतमा यौनशोषण

जापान पठाइदिने प्रलोभनमा पारेर सर्वसाधारण ठग्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७, का नारायणबहादुर राई भन्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरीदह नगरपालिका–१, का पर्वराज पाण्डे भन्ने ४६ वर्षीय ईश्वरी पाण्डे रहेका छन् । उनीहरुले अर्काको नागरिकता दुरुपयोग गरी अरुकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा विकास बैंकमा खाता खोलेका थिए । खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेपनि नागरिकता भने उनले नारायणबहादुरको बुझाएका थिए । तर, बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको पनि खुलेको छ । 

उक्त खातामा विदेश जान चाहने मानिसहरुलाई उनले रकम जम्मा गर्न लगाई पछि आफ्नो खातामा सार्ने गरेको देखिएको छ । आफ्नो खातामा धेरै रकम जम्मा भएपछि श्रेष्ठले चलाखी गरि पीडितहरुलाई कामना सेवा विकास बैंकमा पर्वराज नाममा खोलिएको खातामा रकम जम्मा गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार श्रेष्ठ र पाण्डेले दुई सय १९ जनाबाट दुई करोड ६८ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । 

प्रहरीले वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई सोधपुछ गर्दा उनी पठाओ चालक रहेको र १५-१६ वर्षअघि नै नागरिकता हराएको थाहा भएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । 

यता, वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने प्रलोभनमा परेकी एक महिला भारतमा बेचिएकी छन् । दाङको बबई गाउँपालिका–५, का ४५ वर्षीय पूर्णबहादुर भण्डारीले महिलालाई भारतको नयाँदिल्ली पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको थाहा भएको हो । 

प्रहरीका अनुसार भण्डारीले कुवेतमा राम्रो आम्दानी हुने र त्यहाँ जान लाग्ने सम्पूर्ण खर्च आफैंले व्यहोरिदिने विश्वास दिलाई पीडित महिलालाई बुटवल हुँदै भारतको नयाँदिल्ली पुर्याएका थिए । त्यसपछि त्यहाँ रहेको फ्ल्याटमा राखेर बन्धक बनाई यौन शोषण गर्नुका साथै अन्य भारतीय नागरिकलाई समेत ल्याएर जबर्जस्ति वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुलेको हो । 

गत असार १३ गते त्यहाँबाट भागेर नेपाल फर्किएपछि पीडितले प्रहरीको मानव बेचविखन ब्युरोमा जाहेरी दिएकी थिइन् । आरोपित भण्डारीको खोजतलास गर्ने क्रममा उनलाई अस्ति बबई गाउँपालिका–५, स्थितबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू