‘शारीरिक सम्पर्क’ गर्न खोजेको आरोप लागेका उपमेयर भन्छन् : राजनीतिक प्रतिशोध साँधियो

‘शारीरिक सम्पर्क’ गर्न खोजेको आरोप लागेका उपमेयर भन्छन् : राजनीतिक प्रतिशोध साँधियो

सिरहाको लहान नगरपालिकाका एक जनप्रतिनिधिमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । उपमेयर रामचलितर महतोमाथि एक महिलाले ‘शारीरिक सम्पर्क’ का लागि दबाब दिएको आरोप लगाएकी हुन् । 

ज्यालादारीमा काम गर्दै आएकी एक महिलालाई ‘शारीरिक सम्पर्क’ को प्रस्ताव गरेको बात सेलाउन नपाउँदै अर्की महिलाले सोही किसिमको आरोप लगाएपछि नगरपालिकामा तरङ्ग मच्चिएको छ । न्याय माग्न जाँदा उपमेयर महतोले यौन प्रस्ताव गरेको ती महिलाले मिडियामार्फत् खुलासा गरेकी छन् । 

घटनाको नालीबेली 

छिमेकी लक्ष्मीपुर पतारी गाउँपालिका ९ की स्थायी बासिन्दा तथा लहान नगरपालिका १ बसोबास गर्दै आएकी ती महिला गत असार १३ गते निवेदन लिएर नगरपालिका पुगिन् । छिमेकीहरुको लापरबाहीका कारण आफ्नो घर अगाडिको ढल अवरुद्ध भएको जनाउँदै उनले निवेदन दर्ता गरिन् । दर्ता नम्बर १२६ र मुद्दा नम्बर २०७९–जेसी–१०६ निवेदनमा छिमेकी दिनेश साह र दयानन्द यादवलाई प्रतिवादी बनाइएको छ । 

मुद्दा दर्तापछि न्यायिक समितिका सदस्य महेन्द्र ठाकुरले स्थलगत निरीक्षण गरे । प्रतिवादीद्वयले तोकिएको समयमै उपस्थित भएर प्रतिवादसमेत गरेको बताइन्छ । सो स्थानमा ढल निर्माण नभएको र घरबेटी स्वयम्ले पानीको व्यवस्थापन गर्नुपर्ने नियम बनाएको भन्दै न्यायिक समितिले मुद्दा खारेज गरिदियो । 

समितिको सर्वपक्षीय बैठकले दाबी नपुगेको ठहर गर्दै गत पुस २२ गते मुद्दा खारेज गरेको हो । न्यायिक समितिको फैसला चित्त नबुझेमा जिल्ला अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । तर, ती महिला अदालत गइनन् । समितिले निर्णय गरेको पाँच महिनापछि एकाएक उक्त मुद्दा सम्पादनका क्रममा उपमेयर महतोले ‘शारीरिक सम्पर्क’ का लागि दबाब दिएको भन्दै मिडियामा आएकी हुन् ।

ढलको विषयलाई लम्ब्याएर महतोले विभिन्न पार्टीमा आफूसँग हिँड्न र बियर खान प्रस्ताव गरेको उनको आरोप छ । साथै, उनले पहिरन, ब्याच, रुपको अनावश्यक प्रशंसा गरेर ‘सेक्सुअल ह्यारेसमेण्ट’ गरेको ती महिलाले बताएकी छिन् । महतोले पछिल्लो समय यौन सम्पर्कका लागि प्रस्ताव गरेपछि मिडियामा आउन बाध्य भएको उनको दाबी छ । 

के भन्छन् उपमेयर ? 

उपमेयर महतोले आफूमाथि लागेको आरोप झुठो भएको बताए । आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको उनको जिकिर छ । ‘ममाथि हावादारी आरोप लगाइएको हो । मलाई राजनीतिक प्रतिशोध साँधिएझैं लाग्छ । अब राजनीतिमा पक्ष–विपक्ष हुन्छन् । यो सरासर असत्य हो, यस विषयमा प्रष्टीकरण दिनुपर्छजस्तो मलाई लाग्दैन’, उनले भने । 

केही दिनअघि ध्यानाकर्षण पत्र जारी गर्दै उनले सोबारे स्पष्टीकरण पनि दिएका थिए । उनले आफूमाथि लगाइएको आरोप पूर्णरुपमा गलत भएको दाबी गरेका छन् । ‘न्यायिक समिति लहानले निवेदक रहेको उक्त निवेदनको निर्णय गरिसकेपछि ..... हालसम्म जिल्ला अदालत गएको जानकारी न्यायिक समितिलाई छैन् । तसर्थ, ..... निवेदकले ममाथि लगाएको आरोप पूर्ण रुपले गलत तथा निजले आशय अनुसारको निर्णय न्यायिक समितिबाट नभएको कारण उक्त भिडियोमा लेखिएको कुरा केवल आवेश प्ररित हो’, पत्रमा उल्लेख छ । 

कहाँ पुग्यो उनीविरुद्धको जाहेरी ? 

यसअघि उनै उपमेयरमाथि लहानकै एक युवतीले ‘शारीरिक सम्पर्क’ का लागि दबाब दिएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि केही समय ‘फरार’ रहेका उनले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेर आफ्नो बचाऊ गरेका थिए । 

प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले भनेका थिए, ‘उपचारका लागि भारत गएकाले समयमै प्रहरी कार्यालयमा उपस्थित हुन सकिनँ । युवतीलाई मेरो राजनीति ध्वस्त बनाउन कसैले प्रयोग गरेको चाल पाएको छु । मैले शारीरिक सम्पर्कका लागि ती युवतीलाई विवश बनाएको भन्ने कुरा सरासर गलत हो ।’

पछि युवतीका अभिभावकलाई आर्थिक प्रभावमा पारेर प्रकरण सामसुम पारिएको गाइगुइँ चलाइयो । यता, महिलाले न्यायका लागि जिल्ला अदालत, सिरहामा मुद्दा दर्ताको तयारी थालेको चर्चा छ । 

उपमेयर महतो जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

टिप्पणीहरू