जलेश्वरका जनप्रतिनिधि भ्रष्टाचारमा डामिए

जलेश्वरका जनप्रतिनिधि भ्रष्टाचारमा डामिए
सुन्नुहोस्

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर र उपमेयर दुबैजना भ्रष्टाचारमा तानिएका छन् । 

नगर क्षेत्रमा बाटो ढलान गर्दा आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सुरेश साह सोनार र उपमेयर रौशन खातुनविरुद्ध मुद्दा चलाएको हो । विशेष अदालतमा आज दायर मुद्दामा उनीहरु सहित १२ जनालाई प्रतिवादी कायम गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीसमेतको मिलेमत्तोमा ढलान गर्दा रकम हिनामिना भएको अख्तियारको दाबी छ । मुद्दा चलाइनेहरुमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी छन् । 

त्यस्तै, छैठौं तहका अधिकृत धिरेन्द्र झा, वरिष्ठ इञ्जिनियर पवनकुमार झा, इञ्जिनियर राकेशकुमार चौधरी, सबइञ्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुनलाई पनि प्रतिवादी बनाइएको छ । 

अख्तियारका अनुसार जलेश्वर नगरपालिका- १ महोत्तरी बरुणसर पोखरीनजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान गर्दा गुणस्तरहीन काम गर्नुका साथै गलत कार्य सम्पन्न प्रतिवेदन बनाएर सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ । उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन समेत चेकजाँच नगरी पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी दिएको पनि अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ । 

१२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुरमा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ । 

मेयर साह, उपमेयर खातुन र वडाध्यक्ष झा तीनैजना जसपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

टिप्पणीहरू