एकमाथि अर्को मुध्दा,नियुक्ति दिनेहरु सधैं शुध्द

एकमाथि अर्को मुध्दा,नियुक्ति दिनेहरु सधैं शुध्द
सुन्नुहोस्

शक्ति केन्द्रको आडमा राज्य स्रोतको दोहन गर्ने सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा पौडेलसहित छ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी जिम्मेवारीमा रहेका विकलले अन्य प्रतिवादीहरुसँग साँठगांठ गरेर करोडौँ घोटाला गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

मुद्दा चलाइने अन्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ,वन तथा वातावरण मन्त्रालयका तत्कालिन सिडिई (मेकानिकल) नविनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालिन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनलका सिईओ अकबर हुसेन छन् । 

उनीहरुले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानून मिचेर उपकरण खरिदको बोलपत्र आह्वान गरेको र म्याक्स इन्टरनेशनलको मात्र कार्यअनुभव मिल्ने गरी सेटिङ मिलाएको खुलेको छ । त्यस्तै, आवश्यकताभन्दा बढी वा अनावश्यक उपकरणसमेत खरिद गरि राज्यलाई ४० करोड ८५ लाख ७४ लाख ७४० रुपैयाँ नोक्सान पुर्याएको अख्तियारले जनाएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरी विकलसहितका प्रतिवादीलाई कैद र जरिवाना गर्न अख्तियारले माग गरेको छ । 

सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकलविरुद्ध यसअघि पनि दुई वटा भ्रष्टाचार मुद्दा दर्ता भइसकेको छ । गत वैशाख ९ गते अमेरिकी स्थायी आवासीय अनुमतिपत्र लिएर नेपालमा सरकारी सेवामा नियुक्त भएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो । 

त्यसअघि माघ १० गते गैरकानूनी रुपमा सम्पत्ति आर्जना गरेको अभियोगमा अख्तियारले मुद्दा चलाएको थियो ।

टिप्पणीहरू