कसैलाई अमेरिका पुर्याइदिने आश्वासन, अरुलाई युएन मिसन

कसैलाई अमेरिका पुर्याइदिने आश्वासन, अरुलाई युएन मिसन
सुन्नुहोस्

अवैध बाटोबाट अमेरिका र क्यानडा पुर्याउने प्रलोभनसँगै साढे पाँच करोड ठगी गरेको गिरोहका थप तीन जना पक्राउ परेका छन् । 

ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका–२, का ४८ वर्षीय जगतबहादुर तामाङ र तनहुँको ऋणिङ्ग गाउँपालिका–२, का ४८ वर्षीय जंगबहादुर विक र ४६ वर्षीय विष्णुबहादुर बरालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट पक्रेको जनाइएको छ । 

अवैध बाटो हुँदै अमेरिका, क्यानडालगायत मुलुक पठाइदिने प्रलोभनसँगै मानव तस्करी गरेको र नौ महिनासम्म बन्धक बनाएको आरोपमा यसअघि उक्त समूहका सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा पक्राउ परेका थिए ।

उनीहरुले अमेरिका जान खोज्नेसँग प्रतिव्यक्ति ४० देखि ५० लाख र क्यानडाको लागि प्रतिव्यक्ति २२ देखि ३० लाखसम्म लिएको तथ्य खुल्न आएको छ । १० जना पीडितबाट पाँच करोड ५० लाख रुपैयाँ ठगेको प्रमाण भेटिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका जगतबहादुर, जंगबहादुर र विष्णुबहादुरले उनीहरुलाई एजेन्टको रुपमा नेपालमा राखेको देखिन आएको छ । समूहले भारतको नयाँ दिल्लीस्थित होटलबाट संगठित रुपमा मानव तस्करी र ठगी गर्दै आएको पाइएको छ । 

उनीहरुले केन्या र युगाण्डामा उतैका नागरिकलाई समेत एजेन्ट राख्ने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

यता, वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै झण्डै डेढ सय जनाबाट चार करोडभन्दा बढी रुपैयाँ ठगी गरेका विनोद श्रेष्ठलाई पनि प्रहरीले पक्रेको छ । 

पोखरा घर भएका र हाल काठमाडौंको चाबहिल बस्ने ४२ वर्षे उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो नियन्त्रणमा लिएको हो । 

श्रेष्ठले टर्कीको युएन मिसन कार्यालयमा जागिर लगाइदिने प्रलोभनमा ठगेको खुल्न आएको छ । प्रहरीका अनुसार उनले ‘युएनको भवन निर्माणमा काम खुलेको छ’, ‘मासिक १४५० डलर कमाई हुन्छ’ भन्दै पीडितबाट रकम उठाएका थिए । 

एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएको देखिन आएको छ । उनकी श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेल पनि ठगी मुद्दामा पुर्पक्षको निम्ति थुनामा रहेको समेत खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाइएको छ ।
 

टिप्पणीहरू