सहकारी ठगीपछि फरार जीबी राईको पासपोर्ट रद्धको प्रक्रिया शुरु

सहकारी ठगीपछि फरार जीबी राईको पासपोर्ट रद्धको प्रक्रिया शुरु

सहकारी ठगी प्रकरणमा फरार जीबी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार गरिएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष एवम् संरक्षकसमेत रहेका उनको राहदानी रद्धका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले विभागलाई पत्राचार गरेको छ । 

राहदानी विभागका प्रवक्ता रमेशकुमार चर्मकारले राईको राहदानी रद्ध गर्न पत्र प्राप्त भएको जानकारी दिएका छन् । उनले भने, ‘हिजो पत्र आएको हो । अब हामी आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउँछौं ।’ 

उनका अनुसार राईको पासपोर्ट यसअघि नै रोक्का गरिसकिएको छ । विभागले उनको राहदानी रद्ध गरिएको लेखेर मात्र पठाउन बाँकी रहेको चर्मकारले बताए । ‘यसअघि नै उनको पासपोर्ट रोक्का गरिएको हो । अब राहदानी नै रद्ध गरिएको लेखेर पठाउन मात्र बाँकी छ,’ उनले भने । 

मुलुकभर सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताको अर्बौ रकम हिनामिना गरेर फरार भएका जीबी राईलाई पक्राउ गर्न यसअघि नै प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन र रेड नोटिस जारी गरिसकेको छ । 

मलेसियामा लुकेर बसेका भनिएका उनलाई पक्राउ गरेर स्वदेश पठाइदिन प्रहरी प्रधान कार्यालयको अनुरोधमा केही समयअघि परराष्ट्र मन्त्रालयले समेत मलेसिया सरकारलाई ‘कुटनीतिक नोट’ पठाएको थियो । यद्यपि, उनी हालसम्म पक्राउ परेका छैनन् ।
 

टिप्पणीहरू