अदालतले तोकेको एक सय,लिने तीन हजार

अदालतले तोकेको एक सय,लिने तीन हजार
सुन्नुहोस्

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले परीक्षा तयारी दस्तुरका नाममा मज्जैले कसेको पाइएको छ । लेखापढीको लाइसेन्सका लागि परीक्षा फाराम बुझाउन आएकासँग एशोसिएशनले परीक्षा तयारीको दस्तुर भन्दै तीन हजार रुपैयाँ असुलेको व्यापक गुनासो आएको छ ।

परीक्षा तयारीको नाममा एशोसिएशनले ‘ठगी’ गरेको परीक्षार्थीहरुको आरोप छ । कक्षा लिए–नलिए पनि दस्तुर भने बुझाउनैपर्ने उनीहरु बताउँछन् । पैसा नतिरेसम्म फाराम नै नबुझ्ने उनीहरुको भनाइ छ । काठमाडौं जिल्ला अदालतले परीक्षा दस्तुरबापत एक सय रुपैयाँ तोक्दा एशोसिएशनले तयारी कक्षा भन्दै तीन हजार रुपैयाँ लिएपछि परीक्षार्थीहरुले आपत्ति जनाएका छन् । 

यता, एक सय रुपैयाँ भनेर फाराम भर्न आएकाहरु मर्कामा परेका छन् । तीन हजार रुपैयाँ तिर्नुपर्ने भएपछि कतिपय फाराम नबुझाइकन फर्किएका छन् । लामो समयपछि अदालतले खुलाएको लेखापढीको फाराम भर्न यतिबेला एशोसिएशनमा चर्को भीड छ । तर, शुल्कका कारण केहीले मात्र फाराम बुझाएको पाइन्छ । 

अदालतले लेखापढी कानुन व्यवसायीको परीक्षाका लागि गत वैशाख २८ गते दरखास्त आह्वान गरेको छ । लेखापढी कानुन व्यवसायीको परीक्षा सञ्चालन समितिको सोही दिनको निर्णयानुसार अदालतले लेखापढी कानुन व्यवसायीको परीक्षा फाराम खोलेको हो । 

अड्डा अदालतमा लेखापढी कानुन व्यवसायीको रुपमा काम गर्न इच्छुक नेपाली नागरिकले फाराम भर्न सक्नेछन् । लेखापढी गर्न कम्तीमा एसएलसी वा सोसरह पास भएको हुनुपर्ने छ । अदालतले राष्ट्रिय वाणिज्य बैंकमार्फत एक सय रुपैयाँ दस्तुर तिरेर फाराम बुझाउन सकिने जनाएको छ । 

फाराम अदालतको वेभसाइटमा राखिएको छ भने बबरमहलस्थित एशोसिएशनको कार्यालयमा बुझाउनुपर्ने जानकारी दिइएको छ । जेठ १९ गतेसम्म फाराम बुझाउने अन्तिम समय तोकिएको छ । अदालतको सूचनामै एक सय रुपैयाँ दस्तुर उल्लेख हुँदा एशोसिएशनले तीन हजार रुपैयाँ असुल्नु गैरकानुनी भएको लेखापढी व्यवसायीहरु बताउँछन् । 

कानुनमा उल्लेख नभएको शीर्षकमा रकम लिन नमिल्ने उनीहरुको बुझाइ छ । कक्षा लिने–नलिने परीक्षार्थीको स्वःईच्छाको विषय भएको उनीहरुको जिकिर छ । यता, परीक्षार्थीहरु पैसा नतिरेसम्म फाराम नबुझ्ने एशोसिएशनको नियमउपर आक्रोशित भएका छन् । उनीहरुका अनुसार एशोसिएशनका कर्मचारीले पैसा नतिरे फाराम फिर्ता लैजानु भनि हप्कीदप्की गर्ने गरेका छन् । 

तयारी कक्षाको नाममा लुट मच्चाएको उनीहरुको भनाइ छ । त्यस्तै, उनीहरुले अदालतले तोकेकै शुल्कमा फाराम बुझाउन पाउनुपर्ने माग राखेका छन् । ‘अदालतले एक सय रुपैयाँ तोकेको छ । उहाँहरु तीन हजार रुपैयाँ माग्नुहुन्छ । यो त सीधा ठगी भएन् र ? पूर्वतयारी कक्षा अनिवार्य हो भन्नुभएको छ । पैसा नहुनेले कहाँबाट ल्याएर तीन हजार रुपैयाँ दिने ?’, फाराम भर्न आएका एक जनाले आक्रोश पोखे । 

घरमै तयारी गर्छु भन्नेसँग पनि एशोसिएशनले जबरजस्ती शुल्क उठाइरहेको छ । फाराम नै नबुझ्ने भएपछि अधिकांशले बाध्य भएर पैसा तिरिरहेका छन् । ‘म फाराम बुझाउन एशोसिएशन जाँदा उहाँहरुले परीक्षा तयारी दस्तुरबापतको रकम तिर्नु भन्नुभयो । म कानुन नै पढेको विद्यार्थी भएकोले कक्षा नलिने भने । उहाँहरुले अनिवार्य तयारी कक्षा लिनुपर्ने भन्दै हुनुहुन्थ्यो । मैले पैसा तिर्दिन् भनेपछि उहाँहरुले फाराम फिर्ता लिएर जानु भन्दै हप्काउनुभयो । अनि मैले बाध्य भएर तीन हजार रुपैयाँ तिरे’, अर्की एक परीक्षार्थीले भनिन् । 

यता, अन्यले पनि त्यस्तै गुनासो पोखिरहेका थिए । अर्काेले भने,‘यो त एशोसिएशनको ब्रहमलुट नै हो । तयारी कक्षाका नाममा त्यसरी पैसा लिन पाइँदैन् । कानुनमा पनि यो कुरा कतै उल्लेख छैन् । जागिर खानका लागि लाइसेन्स लिन खोजेकासँग यसरी पैसा लिनु गैरकानुनी हो । पढ्न–नपढ्ने त्यो परीक्षार्थी स्वःईच्छाको कुरा हो ।’ 

तयारी कक्षा अनिवार्य होइन: एशोसिएशन 

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले तयारी कक्षा अनिवार्य नभएको जनाएको छ । एशोसिएशनका महासचिव उज्जवल श्रेष्ठले आवश्यक पर्नेले मात्र कक्षा लिन सक्ने दाबी गरेका छन् । फाराम भर्नेले नबुझेको हुन सक्ने उनको जिकिर छ । 

‘परीक्षा तयारी कक्षा अनिवार्य होइन । लिने–नलिने उहाँहरुकै कुरा हो । उहाँहरुले नबुझ्नुभएको हुनसक्छ । पहिलेपनि परीक्षा दिइसकेकालाई त अप्ठेरो हुँदैन । नयाँ परीक्षार्थीको सहजताका लागि कक्षा सञ्चालन गर्न लागेका हौं’, उनले भने । कक्षा सञ्चालनको मिति अबको एकाध दिनमै तय हुने उनले बताए ।

टिप्पणीहरू