एचआईभी संक्रमित महिलाको पेटभित्र तीन पाउ कोकिन, भारतीय महिला पनि पक्राउ

एचआईभी संक्रमित महिलाको पेटभित्र तीन पाउ कोकिन, भारतीय महिला पनि पक्राउ

सात करोड मूल्य बराबरको लागुऔषधसहित दुई विदेशी महिला पक्राउ परेका छन् । इथियोपियाबाट नेपाल आएका युगाण्डाका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेलाई प्रहरीले सिनामंगलमा नियन्त्रणमा लिइएको बताइएको छ ।

मुगालाको पेटबाट एक केजी २६० ग्राम कोकिन बरामद गरिएको छ । उनले ९० वटा कोकिनका क्याप्सुल निलेर काठमाडौँ उत्रिएकी थिइन् । उनी एचआईभी सङ्क्रमित समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

यस्तै लिलियनले चकलेटको खोलमा लुकाएर ल्याएको एक केजी ३९४ ग्राम कोकिन बरामद भएको छ । उनले पनि चकलेटमा ६३ वटा कोकिनको क्याप्सुल लुकाएर ल्याएकी थिइन् । 

दुई जनाबाट बरामद भएको २ केजी ६५४ ग्राम कोकिनको मूल्य नेपाली बजारमा ७ करोड ९६ लाख रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले जानकारी दिए । उनका अनुसार उक्त कोकिन लिन भारतबाट नेपाल आएकी ३३ वर्षीया देवाजनी पाललाईसमेत नियन्त्रणमा लिइएको छ । 

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

टिप्पणीहरू