‘पैसा देखेपछि महादेवको पनि तीन नेत्र’

‘पैसा देखेपछि महादेवको पनि तीन नेत्र’

नेपालीमा एउटा उखान छ, ‘पैसा देखेपछि महादेवको पनि तीन नेत्र ।’ यसको अर्थ पैसाको अगाडि धेरैले मन थाम्न सक्दैनन् । यस्ताले मठ मन्दिरका दानपेटिकामा समेत नजर लगाएको पाइन्छ ।

भगवानको मन्दिरमा दर्शन गर्न आउने भक्तजनले श्रद्धापूर्वक चढाएको दान चोरी भएको सुन्दा सबैलाई खिन्न लाग्नु स्वाभाविक हो । त्यसमा पनि मन्दिर संरक्षणमा संलग्न सरकारी कर्मचारी र पदाधिकारी नै त्यसको मतियार बनेपछि कस्तो आश गर्ने ?

पछिल्लो समय मन्दिरको दानपेटिकामा चढाएको रकम मन्दिर संरक्षणका लागि खडा गरिएको कार्यालयका पदाधिकारी, कर्मचारी र पूजारीकै मिलेमतोमा चोरी हुने गरेको खबर यसअघि पनि सुनिएको थियो । तर, राजधानी काठमाडौंमा रहेको विश्व सम्पदासूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा भएको भेटी चोरीको विषयले सबैलाई झस्काइदिएको छ । 

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण स्थलबाट दिनदहाडै भेटी चोरी हुने गरेको विषयले सर्वत्र चर्चा पाएको छ । मन्दिरको सुरक्षा र संरक्षणका लागि खडा गरिएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारीकै सल्लाहमा कर्मचारीले भेटी चोरेको रहस्योद्घाटन भएको छ । 

दैनिक तीनदेखि साढे तीन लाख रुपैयाँ भेटीस्वरुप संकलन हुने गरेको पशुपतिनाथ मन्दिरमा कोषले केही समयदेखि निगरानी बढाएको बताइन्छ । त्यसपछि सिसीटिभी क्यामेरा पनि जडान गरियो ।

तर, भेटी गणनाका क्रममा हिजो शंकास्पद गतिविधि देखिएपछि कोषले प्रहरीलाई खबर गरेको हो । महानगरीय प्रहरी वृत्त, गौशालाले उनीहरुलाई  नगद गन्दै गर्दा पक्राउ गरेको बताइन्छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भेटी गनिरहेका सबै आठै जनालाई पक्राउ गरिएको जानकारी दिए । 

‘यो विषयमा कोषले अहिले धेरै बोल्न मिल्दैन । हामीलाई भेटी चोरी हुने शंका लागिरहेको थियो । हिजो भेटी गन्ने क्रममा शंकास्पद गतिविधि देखेपछि प्रहरीलाई खबर गरिएको हो । आठ जना गन्दागन्दै पक्राउ परे । अनुसन्धानको क्रममा को दोषी भन्ने खुल्छ । हाम्रो भनाइ दोषी उम्किनुहुँदैन र निर्दोष फस्नुहुँदैन भन्ने हो’, उनले बताए ।

प्रहरीले कोषका नायवसुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरु नवराज घिमिरे, राम सापकोटा, लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारी अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, मन्दिर परिसरमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको थियो । 

पक्राउ परेका केही कर्मचारीले उक्त कार्य गराएकोमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नाम लिएका छन् । सुवेदीले ‘केही हुँदैन, काम गर’ भनेकाले पैसा झिकिएको ती कर्मचारीले प्रहरीको सोधपुछमा बताएका छन् । झण्डै तीन महिनादेखि उक्त धन्दा चलेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । दैनिक तीन हजारदेखि १५ हजार रुपैयाँसम्म भेटी निकाल्ने गरेको र सो रकम कोषाध्यक्ष सुवेदीदेखि ढोडारी, पूजारी नवराज घिमिरेसम्मलाई भागबण्डा लगाउने गरिएको बयान दिएका छन् ।

सिसीटिभी क्यामेरा राखेपछि ‘आफूले त्यस्तो काम नगर्ने’ भन्दा पनि उनीहरुले नमानेको ती कर्मचारीको भनाइ छ । राष्ट्रिय वाणिज्य बैंकको पूर्वकर्मचारी समेत रहेका सुवेदी २०७८ सालमा कोषको कोषाध्यक्षमा नियुक्त भएका हुन् । पदीय दुरुपयोग गरेर उनले कोषलाई क्षति पुर्याउन खोजेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । पक्राउ परेकाले सुवेदीले ज्याकेटमा लुकाएर भेटी चोर्न लगाउने गरेको प्रहरीसमक्ष बताएका छन् । 

प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । आवश्यक सोधपुछपछि तीन जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । बैंकका कर्मचारी र दुई पूजारीलाई रिहा गरिएको प्रहरी वृत्त, गौशालाले जनाएको छ । वृत्तका एक जना अधिकृतका अनुसार ढोडारी, घिमिरे, कपाली, परियार र दमाई भने प्रहरी हिरासतमा छन् । ‘तीन जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । बैंक कर्मचारीको साथबाट केही फेला परेन । अन्य दुई जनाबाट पनि केही नभेटिएपछि छाडेका हौं । थप अनुसन्धान भइरहेको छ’, ती अधिकृतले भने । 

उनका अनुसार कोषको तर्फबाट हालसम्म पनि जाहेरी परेको छैन । भन्छन्, ‘कोषबाट जाहेरी आउने क्रममा रहेको बुझिएको छ । त्यसैले मुद्दा चलाइसकेका छैनौं ।’

टिप्पणीहरू