रास्वपाका मन्त्रीहरुको प्रशस्त सम्पत्ति, डिपी अर्यालको सहकारीमा डेढ करोड
सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र २३ जना मन्त्रीको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको हो ।
विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका चार जनासँग प्रसस्त सम्पत्ति देखिएको छ । सो पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग ८० तोला सुन छ । उक्त सुनमध्ये केही खरिद गरेको र केही आफन्तबाट उपहार पाएको उनले उल्लेख गरेका छन् । त्यस्तै, नेपाल बैंकमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार नगद छ ।
लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठमा पौने चार करोड बराबरको घडेरी देखाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा पनि निकिताको नाममा १० रोपनी जग्गा छ ।
पत्नी निकिताकै नाममा ४२ लाखको कार, तीन करोडको नारी टिभी र एक करोड बराबरको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको पनि लामिछानेले खुलाएका छन् । श्रीमान-श्रीमती दुवैको कमाइबाट कार किनेको उल्लेख गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालसँग प्रसस्त सम्पति रहेको देखिन्छ । सम्पत्ति विवरणमा उनले १५० तोला सुन देखाएका छन् । उक्त सुन ०७४ सालअघि ८२ लाख २० हजारमा किनेको उल्लेख गरिएको छ ।
सहकारीको बचत हिनामिना प्रकरणमा नाम जोडिएर बेलाबखत चर्चामा आउने गरेका श्रममन्त्री अर्यालले जनसागर सहकारीमा डेढ करोड नगद रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । त्यस्तै, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद रहेको पनि उल्लेख छ ।
अर्यालले श्रीमती अम्बिका केसीको नाममा पनि जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद देखाएका छन् । विवरणअनुसार काठमाडौँ, धादिङ र लमजुङका एक दर्जन ठाउँमा उनको जग्गा र घडेरी छ । मन्त्री अर्यालसँग एक करोड २५ लाख मूल्य पर्ने टोयोटाको प्राडो कार र श्रीमतीसँग ४३ लाख मूल्यको टाटा नेक्शन कार पनि रहेको छ ।
त्यस्तै, शिक्षामन्त्री सुमना श्रेष्ठले विभिन्न बैंक खातामा डेढ करोडभन्दा बढी नगद देखाएकी छन् । उनीसँग एनआइसी एसियाँ बैंकमा एक करोड १५ लाख र एभरेष्ट बैंकमा ३७ लाख नगद छ । सबै रकमको स्रोत जागिरबाट प्राप्त पारिश्रमिक उल्लेख गरिएको छ ।
मन्त्री श्रेष्ठको नाममा काभ्रेको रियालेमा करिब १० लाख बराबरको जग्गा छ भने विभिन्न कर्पोरेट कम्पनीमा शेयर लिएकी छन् । ११ तोला सुन र ११ तोला चाँदी पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, उनीसँग एक लाख ८५ हजार पर्ने एउटा स्कुटर र २० लाख मूल्यको इभी गाडी पनि छ ।
रास्वपाबाटै खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई वटा घर छ । सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग १५ तोला सुन र ५० तोला चाँदी छ । लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार, सिटिजन्स बैंकमा पाँच हजार, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख नगद जम्मा गरेको उनले उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठले तीन लाख बराबरको घडी, दुई लाख ४६ हजार पर्ने स्कुटर र १९ लाख ७५ हजार मूल्यको विद्युतीय गाडी आफूसंग रहेको जनाएका छन् ।
टिप्पणीहरू