पक्राउ परे कैलाश सिरोहिया, कान्तिपुर परिसरमा गृहमन्त्रीविरुद्ध नाराबाजी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट भर्खरै नियन्त्रणमा लिएको हो ।
धनुषा जिल्ला अदालतबाट दोहोरो नागरिकता प्रकरणमा पक्राउ गर्न उनीविरुद्ध आज पूर्जी जारी भएको थियो । उनलाई पक्राउ गर्न प्रहरीको ठूलो टोली कार्यालयमा पुगेको थियो । उनलाई कार्यकक्षबाटै समातिएको हो ।
त्यसक्रममा त्यहाँ उपस्थित पत्रकार महासंघका प्रतिनिधि, विभिन्न मिडियाका पत्रकार लगायतले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् ।
सिरोहियाविरुद्ध गत वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी परेको थियो । उनी पक्राउ पूर्जी खारेजीको माग गर्दै आज सर्वोच्च अदालत पुगेका थिए । तर, उनीविरुद्ध पहिल्यै एउटा मुद्दा विचाराधीन रहेकाले उनको रिट निवेदन दर्ता नभएको हो ।
टिप्पणीहरू