गृहमन्त्रीविरुद्ध सडक तताउने काँग्रेसको तयारी, आइतबार काठमाडौंमा प्रदर्शन

गृहमन्त्रीविरुद्ध सडक तताउने काँग्रेसको तयारी, आइतबार काठमाडौंमा प्रदर्शन
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । 

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले जेठ १३ गते अपराह्न २ बजे भृकुटीमण्डपमा बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन कांग्रेसले भ्रातृ संगठन र सिंगो पार्टी पंक्तिलाई आह्वानसमेत गरेको छ । 

सरकारले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको बिरोध र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न बिरोध प्रदर्शन गर्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सहकारीको जुन ठगी र दुरुपयोगको प्रकरण छ । यी सबैलाई लिएर नेपाली काँग्रेस काठमाडौं जिल्ला समितिले १३ गते २ बजे प्रदर्शनीमार्गमा बिरोध प्रदर्शन गर्दैछ’, उनले भने, ‘त्यसमा सम्पूर्ण भ्रातृ संगठनहरु र पार्टीको साथीहरु संलग्न हुनुहुनेछ ।’

काँग्रेसले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको जिकिर गर्दै त्यसप्रति निन्दा र भत्र्सना पनि गरेको छ । संसदीय समिति गठनको माग गर्दै काँग्रेसले लगातार संसद अवरुद्ध गरिरहेको छ । तर, गृहमन्त्री केन्द्रित समिति गठनका लागि तयार नभएको सत्तापक्ष भने सभामुखको सहयोगमा अवरोधबीच सदन चलाउन अग्रसर देखिन्छ ।

टिप्पणीहरू