संसदमा समिति गठनको किचलो, सहकारी पीडित सडकमा

संसदमा समिति गठनको किचलो, सहकारी पीडित सडकमा
सुन्नुहोस्

सहकारी ठगी प्रकरणको छानविन गर्न माग गर्दै संसदमा आवाज चर्किरहेका बेला पीडित बचतकर्ताहरु सडकमा उत्रिएका छन् । आज काठमाडौँमा र्यालीसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा भएको प्रदर्शनमा झण्डै चार सयको सहभागिता रहेको छ । त्यसअघि पीडितहरुले माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेका थिए । र्यालीपछि कोणसभा गर्ने र माइतीघरमा अनिश्चितकालीन धर्ना तथा रिले अनशन थाल्ने उनीहरुको तयारी छ ।

सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि दबाब दिन आन्दोलनमा उत्रनुपरेको पीडितहरुले बताएका छन् । सम्झौता कार्यान्वयन नभए देशव्यापी आन्दोलन सशक्त बनाउने उनीहरुको चेतावनी छ । 

सहकारी पीडितहरुको यो तेस्रो चरणको आन्दोलन हो । पहिलो चरणको आन्दोलनमा उनीहरुले माइतीघरमा ६३ दिन लामो विरोध प्रदर्शन गरेका थिए । 

प्रदर्शनले चर्को रुप लिएपछि सरकारले उनीहरुसँग सात बुँदे सम्झौता गर्यो । तर, सम्झौता कार्यान्वयनमा नआएपछि उनीहरुले गत चैत १ गतेदेखि पुनः राजधानी केन्द्रित आन्दोलन गरेका थिए । त्यतिबेला सरकारले उनीहरुसँग आठ बुँदे सहमति गरेको थियो । 

सहमतिपत्रमा समस्या देखिएका सहकारी संस्थाहरुको निरीक्षण एवम् हिसाब जाँच गर्ने, पीडित संघर्षरत बचतकर्तासमेतको प्रतिनिधित्व रहेको समिति गठन गर्ने, समितिको सिफारिसमा सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्वार प्रणालीमार्फत् त्यस्ता सहकारीको सम्पत्ति र दायित्वको फरफारक गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अविलम्ब अगाडि बढाउने, सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसूर गर्ने सहकारीका सञ्चालक, व्यवस्थापक र संलग्न कर्मचारीहरुलाई कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याउनेलगायत उल्लेख छ ।

 तर,सहमति कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरेपछि उनीहरु फेरि संघर्षमा उत्रिएका हुन् ।  

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदमा पनि माग उठिरहेको छ । उक्त माग राखेर नेपाली कांग्रेसलगायत विपक्षीहरुले सदन अवरुद्ध गरिरहेका छन् ।

कांग्रेसले देशभरका सहकारी पीडितलाई संगठित गर्दै आन्दोलन चर्काउने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू