प्रमुख दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक

प्रमुख दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक
सुन्नुहोस्

सहकारी प्रकरण छानविन गर्न संसदीय समिति गठनको मागले संसद अवरुद्ध भैरहँदा प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच अहिले छलफल भैरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

त्यस्तै, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौलाको पनि बैठकमा उपस्थिति छ । 

कांग्रेसले सहकारीको बचत हिनामिनामा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नुपर्ने माग राख्दै आएको छ । त्यसका लागि संसदीय समिति गठन गर्नुपर्ने उसको मागमा सत्तापक्ष सहमत भएपनि कार्यादेशबारे सहमति जुट्न सकेको छैन । 

कार्यादेश टुंगो लगाउन आज बिहान बसेको कार्यदलको बैठकमा कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो । यसअघि गृहमन्त्री लामिछानेको नाम तोकेरै समिति गठन हुनुपर्ने अडान राख्दै आएको कांग्रेसले आज भने उनी संलग्न रहेको भनिएका सहकारीको नाम उल्लेख गरेर जान सकिने लचिलो प्रस्ताव राखेको बताइएको छ । 

त्यसबारे शीर्ष तहमा सहमति खोज्न अहिले बालुवाटारमा बैठक बसेको हो ।

टिप्पणीहरू