विद्यालय भवन निर्माणमा भ्रष्टाचार, आठ जनाविरुद्ध मुद्दा दायर

विद्यालय भवन निर्माणमा भ्रष्टाचार, आठ जनाविरुद्ध मुद्दा दायर
सुन्नुहोस्

विद्यालयको भवन बनाउँदा लाखौँ घोटाला गर्नेहरु भ्रष्टाचारमा तानिएका छन् । कालिकोटको पलाँता गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो । 

मुद्दा चलाइनेहरुमा तत्कालिन सिभिल सब–इन्जिनियर माधवकुमार भट्ट, असिष्टेण्ट हिक्मत प्याकुरेल, वडा नम्बर १ का तत्कालिन वडाध्यक्ष एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर भण्डारी, पूर्वअध्यक्ष सन्तोष बुढा, सदस्य वीरजन भण्डारी, प्रधानाध्यापक पदमबहादुर बुचा र लेखापाल विशाल भण्डारी छन् ।  

उनीहरुले पलाँता-१ स्थित कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा सम्झौताअनुसार काम नगरी आर्थिक अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । 

आर्थिक वर्ष २०७४-०७५ मा बहुवर्षीय विद्यालय भवन निर्माणको निम्ति जिल्ला शिक्षा कार्यालय र विद्यालय व्यवस्थापन समितिबीच दुईतले चार कोठे फर्निचरसहितको भवन निर्माणको सम्झौता भएको थियो । तर, प्रधानाध्यापकसहितको मिलेमतोमा शर्त विपरीत भवन निर्माण गर्नुका साथै इस्टिमेटअनुरुप काम नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आठ लाख ५१ हजार ३९२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

टिप्पणीहरू