पुराना पञ्चहरुको पुरानो लफडा बल्झियो,कुट्नेलाई छुट
पूर्वपञ्चहरुको बाहुल्य रहेको राप्रपाका एकजना केन्द्रीय नेता साढे दुई महिनाअघि बैठकमै कुटिएको विषयले फेरि चर्चा पाएको छ । गत फागुन २७ गते पार्टी मुख्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकमा सशस्त्रका पूर्व एआइजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि निर्घात कुटपिट भएको थियो । विवादित ठेकेदारसमेत रहेका उपाध्यक्ष विक्रम पाण्डेका समर्थकहरुले श्रेष्ठलाई हातपात गरेपछि उनीहरुलाई गरिएको निलम्बन हाल फुकुवा गरिएकोले राप्रपाभित्र रडाको मच्चिएको बताइन्छ ।
श्रेष्ठलाई कार्यालयभित्रै पिट्ने तीन जना स्थानीय तहका नेता तथा कार्यकर्तालाई गरिएको निलम्बन फुकुवा भएपछि पार्टीमा दुई धार देखिएको छ । ठाकुरमोहनको सहमतिमा केटाहरुले माफी मागेपछि निलम्बन फुकुवा गरिएको एकथरीको भनाई छ । तर,प्रवक्ता ज्ञानेन्द्र शाहीले नेता कुटुवाहरुलाई फुकुवा गरिएकोमा सबैभन्दा धेरै विरोध गरेका छन् । हिजो सकिएको केन्द्रीय समिति बैठकमा उनी ‘नेता कुट्नेलाई छुट दिन पाईंदैन’ भन्दै निस्केर हिँडेका थिए ।
शाहीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘बैठकमा बोलेको कुरो हुबहु बाहिर ल्याउने,कार्यालयभित्र नेता कुट्नेलाई यति छिटो फुकुवा ? के अब बैठकमा हामी पनि पाखुरा सुर्केर आउनुपर्ने हो ?’ ठाकुरमोहनलाई अध्यक्षको क्याबिनमा कुट्नेहरु उपाध्यक्ष तथा विवादास्पद ठेकेदार विक्रम पाण्डेका मान्छे भएको पहिले नै पुष्टि भइसकेको छ । साँखु नगरपालिका कार्यसमितिको चुनावको विषयमा भएको विवादको चुरो अन्ततः धुम्बाराहीको कार्यालयभित्र कुटाकुटमा परिणत भएको शाही निकट एक जना पदाधिकारीले बताए ।
जोगमेहर श्रेष्ठको पालादेखि सक्रिय जल्दोबल्दो युवाहरुलाई पन्छाइएको, नगर अधिवेशनमा पार्टीको आधिकारिक निर्णय उल्लंघन गरिएको विषय जिल्ला हुँदै प्रदेश कमिटीसम्म पुगेको थियो । त्यही रिसमा कुटपिटसमेत भएपछि आक्रमणकारीहरुलाई चार महिनाका लागि निलम्बन गरिएको थियो ।
‘बैठकमा बोलेको कुरो हुबहु बाहिर ल्याउने,कार्यालयभित्र नेता कुट्नेलाई यति छिटो फुकुवा ? के अब बैठकमा हामी पनि पाखुरा सुर्केर आउनुपर्ने हो ?’
पाण्डेको नेतृत्वमा पार्टीभित्र बाहुन क्षेत्री र ठाकुरमोहनको नेतृत्वमा जनजाति नेता तथा कार्यकर्ता विभाजित भएपछि विवादको विषयले घर गरेको बताइन्छ । एकथरीले राजधानीमा नेवारहरुलाई धेरै पेलेको आरोप लगाएका छन् भने बाउबाजेदेखि राप्रपासँग आवद्धहरुलाई कारबाही र निलम्बन गर्न थालिएको भनेर विक्रमले आवाज उठाउँदै आएको बुझिएको छ ।
फागुन २७ गतेको बैठकमा ‘मान्छेचाँही एआईजी र डाक्टर । बुद्धि चाँही बेकार’ भनेर पाण्डेले ठाकुुरमोहनलाई कटाक्ष गरेपछि उनले पाण्डेलाई जवाफ फर्काएका थिए, ‘तपाईं विवादास्पद ठेकेदारसँगै नामुद तस्कर र भ्रष्टाचारी पनि हो ।’ श्रेष्ठको अप्रत्यासित जवाफ सुनेपछि रन्थनिएका विक्रमको अनुहार निचोरेको कागती जस्तो देखिएको सहभागीहरुले त्यतिबेलै बताएका थिए ।
उक्त क्षण बैठकमा ‘पीन ड्प’ साइलेन्ट भएपछि ठाकुरमाथि कारबाहीको माग गरे लगत्तै विक्रम त्यहाँबाट हिँडे । बाहिर निस्केपछि अनिर राणाको भान्जा र दीपक बोहोराको पिएलाई बोलाएर ठाकुरमोहनलाई कुट्ने योजना बनाइएको पाण्डे विरोधीहरुको दाबी छ ।
त्यहि बेला भोक लाग्यो भनेर पदाधिकारीहरु पार्टी कार्यालयभन्दा तलको बाटो छेउको छाप्रोतिर जाने क्रममा ठाकुरमोहनमाथि अध्यक्षको कोठबाहिर आक्रमण भएको थियो । शुरुमा श्रेष्ठले आक्रमणकारीलाई पछारेका देख्नेहरुले अहिले पनि भन्ने गरेका छन् । तर आक्रमणकारीहरुले पहिले नै बिजुली अफ गरेर सिसीटीभी क्यामरा बन्द गराइसकेको र लालीगुराँस युट्युबलाई ढोकामा उभ्याएर ठाकुरमोहनमाथि आक्रमण गरेपछि उक्त भिडियो बाहिर आएको हो ।
त्यसपछि अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीलगायतका पदाधिकारीहरु बसेर आक्रमणकारीलाई निलम्बन गर्ने निर्णय गरियो । कार्य सम्पादन समितिको बैठकमा तत्काल कारबाही गर्नुपर्ने माग उठ्यो । चार जनामध्ये तीन जनाको मात्रै पहिचान खुलेकाल उनीहरुलाई छानबिन समितिको सिफारिसमा निलम्बन भएको हो ।
भोलिपल्ट ठाकुरमोहनलदे प्रहरीमा ज्यान मार्ने उद्योग सम्बन्धी उजुरी दिए । ठूलाबडा नेता र दिग्गज वकिलको सल्लाह तथा पहुँचले उजुरीमा प्रमाण नपुगेको भन्न प्रहरी बाध्य भयो । अहिले सोही समूहको दबाबमा निलम्बितहरुलाई एकाएक फुकुवा गरिदिएपछि राप्रपाभित्र दुई ध्रुव देखिएको हो ।
नेताहरु पशुपति समशेर राणा, प्रकाशचन्द्र लोहनी, धवल समशेरहरु निलम्बन फुकुवाको पक्षमा देखिए भने ध्रुव प्रधानले सबैलाई मिलाउने प्रयास गरेका थिए । यसबीचमा विक्रम र ठाकुरमोहनलाई हात मिलाउन लगाइयो । तर, उनीहरुको मन नमिलेको प्रमाण सबै छरपष्ट हुनुले पनि प्रष्ट हुन्छ ।
एकजना पदाधिकारी भन्छन्, ‘अधिकांश जनजाति नेता मिलेर तागाधारीलाई पेलेको अनुभूति छ । जनजातिहरु माथिल्लो तहमा पुगेको तागाधारीले सहन सकेनन् । किनभने यो पार्टी साढे तीन दशकअघि जेठ १५ गते क्षेत्रीहरुले नै खोलेका थिए ।’
यता चार दिनसम्म राजधानीमा भएको पार्टी केन्द्रीय कार्य समिति बैठक हिजो सकिएको छ । तर फागुनमा भएको कार्य सम्पादन समिति सदस्य श्रेष्ठमाथिको कुटपिटको घटना पुनः सतहमा आएको हो । ३५० जना सदस्य रहेको केन्द्रीय समितिका सबैलाई बोल्न दिइएको थियो तर पौने दुई सय जतिले आफ्ना धारणा राखेको बताइन्छ । सदस्यहरुले बोलेपछि पदाधिकारीहरुले आफ्ना कुरा व्यक्त गरेका थिए ।
बैठकले सरकारले सहकारी ठगी प्रकरणमा मिहीन ढंगले अनुसन्धान गर्न, पीडितलाई उनीहरुको बचत रकम फिर्ता दिलाउन र अरु बचतकर्ताको रकम सुरक्षित तुल्याउनुपर्ने निर्णय गरेको एक जना सदस्यले बताए । ‘गृहमन्त्री रविको नाम उल्लेख नगरी छानबिन गर्नुपर्ने हाम्रो निर्णयमा उल्लेख छ । आगामी २०८२ को प्रारम्भसम्ममा सबै जिल्ला समितिको अधिवेशन गर्ने भनिएको छ । परिस्थिति अनुसार सरकारमा जाने निर्णय गरिएको छ । तर, वर्तमान गठबन्धन सरकारमा सामेल हुने सम्भावना अत्यन्त कम छ,’ केन्द्रीय समिति बैठकको निर्णयबारे उनले जानकारी दिए ।
टिप्पणीहरू