गणतन्त्रः नारामा समानता, नीतिमा असमानता
-अर्जुन अनुराग “भुइँ मान्छे”
मुक्तिका लागि २००७ सालदेखि विभिन्न मोर्चाबन्दी सडक संघर्षदेखि जनयुद्ध जनआन्दोलन हुँदै संघीय गणतन्त्रसम्म हजारौं महान योद्धाको रगत बगेको छ, पसिना बगेको छ, आँशु बगेको छ । दर्जनौं घरपरिवार अहिले पनि आफ्नो बेपत्ता परिवारको सम्झनामा शोकाकुल छन । लाखौं युवायुवती बेरोजगार भएर परिवारको सानो खुशीको लागि खाडीको तातो मरुभूमिमा चिसो बालुवा चाल्दै छन् । दैनिक एकपछि अर्को विदेशी भूमिबाट लास नेपाल आइरहेका छन् ।
मुलुककै राजधानी काठमाडौं शहरमा दिउँसै हत्याहिंसा, मानव बेचबिखन, लुटपाट, ठगीधन्दा चल्छ । लोकतन्त्रको नाममा सत्ताको पहुँचमा पुगेका ठूला नेताको सामुन्ने तिनका बफादार कार्यकर्ताहरुले नै लुटतन्त्र मच्चाइरहेका छन् । मुलुकको अधिकांश सरकारी स्कुलमा गुणस्तरीय शिक्षा पाईंदैन । न कुनै सरकारी हस्पिटल र स्वास्थ्य चौकीमा आवश्यक औषधि छ, न भरपर्दो दक्ष m स्वास्थ्यकर्मी ।
सरकारी सेवामा इमान्दारिताको खडेरी लाग्दै गएको छ । हरेक क्षेत्रमा घुसतन्त्र मौलाएको छ । स्वास्थ्यकर्मीका नाममा मेडिकल माफियाहरुको रजगज चलेको छ । सरकारी तलब र भत्ता खाएर सरकारी विद्यालयका शिक्षकहरु आफ्ना छोराछोरी मँहगो प्राइभेट स्कुल भर्ना गरेपछि गरिबका छोराछोरीलाइ अल्मलाइरहेका छन् ।
सबैले धकेल्दा धकेलिने गरिबको एक ठेला छ
राजनीति राजकाजमा भुस्याहा कुकुरको भेला छ
एउटै कुरा कसैलाई संवैधानिक, कसैलाई असंवैधानिक
फिल्डमा हेर्दा पनि दुरुस्तै अनुहारको चेला छ
माथिको हिमाल पहाड तलको तराई कहीँ देखिनँ
सँधै मिठा भाषण उपलब्धि कुन समय कुन बेला छ
न पुराना राजाले देखे न अहिलेका महाराजाले
दुर्भाग्य गरिखाने वर्ग जन्मेदेखि मर्दासम्म हेँला छ
विकास प्रेमी भन्नेहरु पाँच वर्ष कहाँ हराए
चुनाव आएर होला गाउँमा तिनै मुखियाको मेला छ
सिंहदरबार गाउँगाउँमा छ तर त्यो सिंहदरबारमा प्रायः श्रमजीवी श्रमिकको रगत र पसिना चुस्ने जनप्रतिनिधिको जन्म भएको छ । ‘दुधको साक्षी बिरालो’ भनेजस्तै उनैले विकासको नाममा शिलान्यास र उद्घाटनको नाममा राँगा खसी बोका काट्न जानेको देखिन्छ । सरकारी बजेट तलमाथि पार्न राम्रै ज्ञान र सीप लिएको भान हुन्छ ।
उनीहरुलाई थाहा छैन चुहिने छानो भित्रको बास कस्तो हुन्छ ? तिनीहरुलाई थाहा छैन बिहानको छाक खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने चिन्ता गर्ने परिवारको भान्सा कस्तो हुन्छ ? थाहा छैन दिनभरि साहुको काम गरेर बिहान–बेलुका छाक टार्नेको मजदुरी । तिनीहरुलाई थाहा छैन आफ्नो परिवार र सन्तानको भविष्य सुनिश्चित गर्नको लागि अर्काको देशमा १८ घण्टा अत्याधुनिक मेसिनमा रोबर्ट झैँ काम गरेर पसिना खलखल बगाउनेको वास्तविक कथा । त्यसैले यी सबै व्यर्थ लाग्छ ।
जबसम्म मजदुर किसान वर्गको सम्मान हुँदैन् तबसम्म देश विकास हुनै सक्दैन । अस्थिर राजनीति स्थिरतातर्फ जाँदैन । भाषण र नारामा मात्र मुलुकको समृद्धि देखिँदैछ । गणतन्त्र, मौलिक स्वतन्त्रता, धर्म निरपेक्षता, समानता, सार्वभौमसत्ता जनतामा निहित यी सबै बिस्तारै कागजमा मात्र सीमित भएको भान हुन्छ ।
यसलाई रक्षा गर्न हिजो विभिन्न कालखण्डमा भएका घटनाको सम्मान गर्दै सबै उपलब्धिलाई संस्थागत गरेर कार्यान्वयनतर्फ लैजानुपर्छ । देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनपर्छ । अस्वाभाविक तवरबाट राज्यको सम्पत्तिमा गिद्धेनजर राख्ने, समाजमा जघन्य अपराध गर्ने, स्वार्थको निम्ति संविधानको धारा–उपधारा परिमार्जन गर्ने र गर्न खोज्नेलाई नागरिकले बेलैमा चिन्नुपर्छ ।
देशबाट सबैखाले सिन्डिकेट पूर्ण रुपमा अन्त्य हुनुपर्छ । तर अहिलेको परिस्थितिले तत्काल यस्तो हुने सम्भावना देखिँदैन । समाजवाद उन्मुख नेपालको संविधानले परिकल्पना गरेकोभन्दा ठ्याक्कै उल्टो दिशामा मुलुक अगाडि बढिरहेको छ । पुराना सामन्तवादका केही अवशेषले गणतन्त्र, संघीयता राज्यको सबै अंगमा समानुपातिक समावेशीजस्ता धेरै लामो समय नेपाली जनताको संघर्ष पछिका उपलब्धिलाई गलत व्याख्या गर्न खोजेको देखिन्छ ।
समाजवादको यात्रामा मुलुक निकै पछाडि परेको छ । गणतन्त्र र समाजवाद उन्मुख संविधान कार्यान्वयनमा भएका केही कमीकमजोरी सच्याएर देशलाई आर्थिक उन्नति प्रगतिको दिशामा लैजान सबै वामपन्थी परिवर्तनकामीहरु एक हुनुपर्ने अवस्था आएको छ । गणतन्त्र प्राप्तिका लागि रगतपसिना बगाएका सपुतहरुप्रति सम्मान प्रकट गर्दै १७ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हालः मलेसिया ।
टिप्पणीहरू