अर्को वर्ष १६ लाख पर्यटक भित्र्याएरै छाड्ने दाबी

अर्को वर्ष १६ लाख पर्यटक भित्र्याएरै छाड्ने दाबी
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य पूरा हुने दाबी गर्नुभएको छ । 

७१ औं सगरमाथा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरहालतमा उक्त लक्ष्य पूरा गरी छाड्ने बताउनुभएको हो । त्यसका लागि पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, पर्यटन व्यवसायीलगायत सबैसँग समन्वय गरेर जाने सरकारको नीति रहेको मन्त्री तामाङले जानकारी दिनुभयो । 

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि बजेटमा नै तोकेर १६ लाख पर्यटक आगमनको लक्ष्य निर्धारण गरिएको उहाँले उल्लेख गर्नुभयो । 

'नेपाल सरकारको तर्फबाट अर्थमन्त्री वर्षमान पुनज्युले बजेट वक्तव्य व्यक्त गर्ने क्रममा हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान शाहसी शान भन्ने नारासहित नेपाल सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको छ', मन्त्री तामाङले भन्नुभयो, 'पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौँ । त्यो लक्ष्य पूर्ण रुपमा सफल हुनेछ ।’

हिमाली क्षेत्रमा बढ्दो मानवीय प्रवृत्तिका कारण वातावरणमा परेको नकारात्मक प्रभाव कम गर्न सरकारले सगरमाथा आधार शिविरको समग्र अध्ययन गर्न लागेको पनि उहाँले जानकारी गराउनुभयो । त्यसनिम्ति समिति गठन भैसकेको र चाँडै नै उपयुक्त निकाससहित प्रतिवेदन पेश हुने मन्त्री तामाङको विश्वास छ ।

 

टिप्पणीहरू