पुस्तक लेखक र पाठकको रसायनशास्त्र : कर्ण शाक्य

पुस्तक लेखक र पाठकको रसायनशास्त्र : कर्ण शाक्य
सुन्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले साहित्यिक विधाका कृति पुस्तक मात्र नभएर यो लेखक र पाठकलाई जोड्ने रसायनशास्त्र भएको बताएका छन् । नेपाली राजनीतिज्ञ, कवि तथा नाटककार गोपालप्रसाद रिमालको सम्झनामा न्युयोर्क राइटर्स वर्कसप इन काठमाडौँ र हिमालयन लिटरेचर फेस्टिभलका अवसरमा राजधानीमा आयोजित अन्तरसंवाद कार्यक्रममा  शाक्यले आफ्ना कृतिहरू ‘सोच’, ‘खोज’, ‘मोज’, र ‘कोष’ यथार्थ भोगाइ र अनुभव भएको स्पष्ट गरेका छन् ।

वन विभागको जागिरेदेखि स्वदेश एवम् विदेशको भ्रमण र होटल, अर्बुदरोग अस्पतालसम्मको निर्माण गरी दुःखसुखको अनुभव सँगालेका आफूलाई पुस्तक लेख्न अरूको कथा हाल्न नपरेको स्पष्ट पारे । पत्नी र छोरीको अर्बुदरोगबाट निधन भएपछिको पीडाले पनि पुस्तक लेख्न प्रेरणा मिलेको जानकारी शाक्यले दिए ।

वर्कसपमा सहभागी स्वदेश तथा विदेशका लेखक एवम् नेपाली पत्रकार, लेखकसँग अन्तरक्रिया गर्दै लेखक शाक्यले भने, ‘मेरा कृति आख्यान र कल्पना होइन, यथार्थ हो, पाठकले ग्रहण गरे । कृति पढेर कतिले मलाई तपाईंले रुवाइदिनुभयो पनि भने ।‘ उनको ‘सोच’ गैरआख्यानात्मक कृतिले उत्तमशान्ति पुरस्कार पनि प्राप्त गरेको थियो । उनका अङ्ग्रेजी भाषामा पनि ‘टेल्स अफ काठमाडौँ’, ‘डोल्पो’ र ‘लुक डाउन अप’ शीर्षक कृति  प्रकाशित छन् । 

‘मुलुकका विभिन्न ठाउँ घुम्दा मलाई मेरो देश स्वर्ग पो रहेछ भन्ने स्पष्ट भयो । म त स्वर्गमा पो जन्मेको रहेछु,’ उल्लेख गर्दै शाक्यले भने, ‘आफ्नो व्यवसाय सञ्चालन गर्दै त्यसैमा धेरै अनुराग राखेको र त्यसलाई कला पनि दिएको जनाउँदै पछि समय व्यवस्थापन गर्न पनि जानेँ । अरूको नक्कलभन्दा नयाँ अलग्गै काम गर्नमा आफ्नो रुचि रहेको कर्णको भनाई छ । ८३ वर्षका उमेरमा पनि उनी गाउँ गाउँको भ्रमण गरिरहेका छन् । 

सकारात्मक सोचका धनी शाक्यका नाममा ‘कर्ण सकारात्मक कोष’ र ‘नागरिक अभियान आफैँबाट’ नामक संस्था  स्थापित छ । यी संस्थाले ६० देशमा करिब पाँच लाख जनालाई समेटी करिब पाँच सय समूह खडा गरिसकेको छ । ‘अरूलाई गाली गर्न र नराम्रो भन्न छाडी राम्रालाई राम्रा भन्न सके समाजमा धेरै परिवर्तन हुन्छ,’ शाक्यको समाज विकासको मन्त्र हो यो । 

अभियानले सचेत नागरिकको कर्तव्य, विदेश भ्रमण, पारिवारिक परिवेश र छिमेकीका रूपमा नागरिकको भूमिका, सरसफाइसम्बन्धी नागरिक कर्तव्य, धार्मिक–सांस्कृतिक– पर्यटकीय–प्रशासनिक–राजनीतिक–सामाजिक–यातायात–ट्राफिक–संरक्षण–विकास क्षेत्रमा नागरिकको भूमिकाका लागि सबैमा आग्रह गरेको छ । 

लेखक कार्यशाला तथा साहित्य महोत्सवअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, नेपालका लागि बेलायती राजदूत रोब फेन र गोपालप्रसाद रिमालका माहिला सुपुत्र मदन रिमालको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको थियो । नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा कविगोष्ठी तथा नेपाली मिडियामा नेपाली साहित्यको स्थान, अनुवाद, डायस्पोरा राइटिङ आदि विषयमा छलफल भएको कार्यक्रम संयोजक युयुत्सुआरडी शर्माले जानकारी दिए ।

टिप्पणीहरू