भ्रष्टाचारको नयाँ रुप : नक्कली योजनामा ठेकेदारसमेत उस्तै

भ्रष्टाचारको नयाँ रुप : नक्कली योजनामा ठेकेदारसमेत उस्तै

धनुषाको शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी भ्रष्टाचारमा तानिएका छन् । 

नक्कली योजना र ठेक्काबाट सरकारी रकम हानिनोक्सानी पुर्याएको आरोपमा उनीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले अघिल्लो वर्ष साउन २८ गते नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनको साथी गुरुदेव यादवलाई दुई लाख ७५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा उनीहरुको मिलेमतोमा विद्यालयमा पर्खाल बनाउने नक्कली योजना र नक्कली निर्माण कम्पनी खडा गरेर भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ । 

अख्तियारका अनुसार रुफ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन कम्पनीको नक्कली लेटरप्याड प्रयोग गरी प्रबन्धकको नक्कली हस्ताक्षरमा भुक्तानी लिएको पाइएको हो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम पौने तीन लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू