केपी ओलीलाई 'गाली' गरेको बालेनको स्टाटसमा मान्छेको धुइरो
काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र (बालेन) साहले गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लेखेको फेसबुक स्टाटस दुई घण्टामा १० हजार शेयर भएको छ ।
गिरीबन्धुको जग्गा घोटालामा ओलीको संलग्नता ठहर गर्दै बालेनले जनता नझुक्क्याउन आग्रहसहित आज बिहान स्टाटस लेखेका थिए । दुई घण्टाअघि पोष्ट भएको स्टाटसमा १ लाख २९ हजारले 'रियाक्सन' दिँदा ८० हजार लाइक छ । झन्डै २५ हजार फेसबुक प्रयोगकर्ताले स्टाटसमा प्रतिक्रिया लेखेका छन् । जसमा लगभग शतप्रतिशतले बालेनको समर्थन गरेको देखिन्छ ।
केपी ओली प्रधानमन्त्री भएका बखत क्याविनेटबाट नीतिगत निर्णय गरी झापास्थित गिरीबन्धुको हदबन्दी छुटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय भएको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेसँगै यस प्रकरणमा बालेनले चासो व्यक्त गरिरहेका छन् ।
त्यसैक्रममा न्युरोडको सडकमा फुटपाथ बिस्तार गर्नेमहानगरको योजनामा एमालेबाट निर्वाचित २२ नम्बरका वडाध्यक्ष चिनकाजी महर्जनले लफडा झिकेपछि बालेनको आक्रोश ओलीतिर खनिएको हो । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ उनले स्टाटसमा लेखेका छन् ।
उक्त काण्ड छोप्न र जनताको ध्यान अन्यत्र मोड्न ओलीले राज्यको सम्पूर्ण शक्ति लगाउँदै न्युरोडमा फूटपाथ मासेर पुनः सडक बनाउन लगाएको आरोप छ ।
बालेनले ओलीसँगै रवि लामिछानेमाथि पनि कटाक्ष गरेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले त्यसबाट उम्किन अरु भ्रष्टाचारका फाइल खोल्न हिच्किचाएको धेरैले टिप्पणी गरिरहँदा उनी लेख्छन्, ‘समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’
टिप्पणीहरू