शून्य समयमा यस्तो सुनियो संसद

शून्य समयमा यस्तो सुनियो संसद

प्रतिनिधि सभा बैठकमा सांसदहरुले विभिन्न माग र गुनासो राखेका छन् । आज बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विपत व्यवस्थापन पूर्वतयारीमा सरकारको ध्यानाकर्षण गराउनेदेखि जनजीविकाका विभिन्न सवाल उठाए ।   

एमाले सांसद रघुजी पन्तले बाढी, पहिरो र डुबानबाट वर्षातमा ४ लाख १२ हजार घर परिवारका १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको तथ्यांक पेश गर्दै पूर्वतयारीका लागि सरकारको ध्यानाकर्षण गराए । विपद् व्यवस्थापनका लागि  तीनै तहका सरकारले आपसी समन्वयमा उचित ढंगले काम गर्नुपर्ने उनको सुझाव छ । 

‘यस वर्षको मनसुन जेठ ३१ देखि असोज १८ सम्म आउने भविष्यवाणी गरिएको छ । र, यो मनसुनको अवधिमा अत्याधिक वर्षाका कारण बाढि, पहिरो र डुबानबाट ४ लाख १२ हजार घर परिवारका १८ लाख मानिसहरु प्रभावित हुने एउटा अनुमान गरिएको छ', सांसद पन्तले भने, 'त्यसमध्ये सबैभन्दा धेरै प्रभावित हुने कोशी प्रदेश परेको छ । जो अघिल्लो वर्षहरुमा पनि यसबाट बढी पीडित भएको थियो । र, कम प्रभावित हुनेमा कर्णालको नाम छ ।'

उनले थप अगाडि भने, 'यत्रो जनसंख्या प्रभावित हुने भएपनि हामीले योजना त बनाएको छौं भनेर राष्ट्रिय विपद प्राधिकरणले भनिराखेको छ । तर यसबारेमा पूर्वतयारी के छ ? यो आउने वर्षाबाट उत्पन्न हुने बाढी, पहिरो, डुबान आदिबाट मुलुकलाई बचाउनका लागि राम्रो तयारी अहिलेदेखि गर्नुपर्यो । र, त्यो तयारीको बारेमा प्रदेश सरकार र सम्बन्धित स्थानीय निकायलाई पनि कसरी त्यो योजना र प्रक्रियामा सामेल गर्ने भन्ने कुरामा सरकारले ध्यान दिनुपर्यो ।’

सांसद मानवीर राईले सोलुखुम्बुमा हिम पहिरोको सम्भावना रहेको औल्याउँदै विपद् व्यवस्थापनको काम अघि बढाउन सरकारसँग आग्रह गरे । सोलुखुम्वुमा आगलागीबाट १४ घर जलेर नष्ट भएको स्मरण गराउँदै उनले तत्काल पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

'सोलुखुम्बु जिल्लामा एक महिना अगाडि १४ घर जलेर नष्ट भएको छ । उहाँहरुको घरबासको व्यवस्थाको लागि सरकारसँग माग गर्न चाहन्छु', सांसद राईले भने, 'मनसुन शुरु भएको छ । सोलुखुम्बु जिल्ला कफलो माटो भएकाले बाढी, पहिरो र हिम पहिरोबाट जोखिम जिल्ला भएकाले त्यसको तयारीका लागि सरकारसँग आग्रह गर्न चाहन्छु ।’

त्यसैगरी, दाङको राजपुर घाईघाटमा डढेलोले २३ घर जलेर नष्ट भएकाले पीडितलाई आवश्यक आवाससहितको क्षतिपूर्तिको व्यवस्था गर्न पनि सदनमा अवाज उठेको छ । 

‘दाङको राजपुर घाईघाटमा वनमा लागेको डढेलो गाउँ बस्तीमा पुगेर २३ घर जलेर पूरै खरानी भएका छन्', सांसद मेनुकाकुमारी पोखरेलले भनिन्, 'ती जनताको आवासको निम्ति सरकारले समयमै ध्यान पुर्याउन म ध्यानाकर्षण गराउन चाहन्छु ।'

दाङलगायतका देशभरका गुठी पीडितहरुको समस्या समाधान लागि आवश्यक कानूनी व्यवस्था तत्काल गर्न पनि उनले सरकारलाई अनुरोध गरिन् ।

'स्वर्गद्वारी गुठी लगायतका गुठी पीडितहरुले पटक-पटक आन्दोलन गर्दै आईरहेका छन् । म देशभरका समग्र गुठीहरुको समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत गुठी ऐन ल्याएर दीर्घकालीन रुपमा समस्या समाधान गर्नका निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, सांसद पोखरेलको माग छ । 

सांसद रामशंकर यादवले तराईमा खानेपानीको तत्काल व्यवस्था मिलाउन र समयमै बीउ र मलको प्रवन्ध मिलाउन माग गरे । बाढी र डुबानको समस्या समाधानका लागि आवश्यक तयारी गर्न पनि उनले सरकारलाई सचेत गराए ।

सांसद यादवले भने, ‘तराईमा अहिले खानेपानीको तत्काल नै व्यवस्था मिलाउनुपर्ने अवस्था छ । त्यस्तै नदी, नालाहरुलाई नियन्त्रण गरी गाउँ बस्ती, सडक, जग्गा कटानलाई रोकि सिंचाईको मिलाउन पर्यो । र. समयमा बीउमलको उपलब्ध गराउनु पर्यो ।’

टिप्पणीहरू