कांग्रेस सांसदले गरे राष्ट्रिय सरकारको प्रस्ताव

कांग्रेस सांसदले गरे राष्ट्रिय सरकारको प्रस्ताव

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले संयुक्त राष्ट्रिय सरकार गठनको प्रस्ताव अघि सारेका छन् । 

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका हुन् । अहिलेको निर्वाचन प्रणाली र शासन व्यवस्थाले स्थिरता नदिने दाबी गर्दै उनले संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । 

मौजुदा संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नहुने बताउँदै सांसद गौतमले संविधान संशोधनमा जोड दिएका हुन् । त्यसका निम्ति राष्ट्रिय सरकार आवश्यक पर्ने उनको भनाई छ । 

‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छ ? यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन । हामी अनावश्यक समय खेर फाल्दैछौँ । देश बर्बाद पार्दैछौँ', उनले भने, 'जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन् । जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन् । जुन राष्ट्रमा शासन गर्नेसँग लेस मात्रैको पनि नैतिक आचरण हुँदैन । त्यो राज्यका कर्मचारी कस्ता हुन्छन् ? त्यो देशको न्यायपालिका कस्तो हुन्छ ? के आशा गर्ने ? के भरोसा गर्ने ? म निराश भएको छु !'

यही प्रक्रियामा चलाएर देशलाई बर्बाद पारिरहेको भन्दै गुनासो पोखेका गौतमले यहि संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने बताए ।

'अब हामीसँग एउटा झिनो आशा बाँकी छ । देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ । यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ । बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ । र यो संविधानलाई संशोधन गरौँ', उनले भने ।

टिप्पणीहरू