कांग्रेसपछि राप्रपाले माग्यो राष्ट्रिय सहमतिको सरकार
पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद तथा ठेकेदार विक्रम पाण्डेले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गणतान्त्रिक व्यवस्थाको विकल्प खोज्न सबै पक्ष मिलेर राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका हुन् । गणतन्त्र असफल भैसकेको बताएका उनले यथास्थितिमा मुलुकले निकाश नपाउने दाबी गरे ।
'बजेट भाषणमा जे परेपनि नपरेपनि हुने कुरा केही पनि छैन । टाँइटाँइ फिस भनेजस्तो माछा माछा भ्यागुतो हुनेजस्तो छ, अरु कुराहरु केही देखिदैनँ', पाण्डेले भने, 'त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरुलाई स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडी बढेनौँ भने गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ ।'
यसो गर्न सकेमात्र मुलुकलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाई छ ।
'यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनौं र किन नयाँ सोचका साथ हामी अगाडि बढ्दैनौँ ?', सांसद पाण्डेको प्रश्न छ, 'यसको लागि म सम्पूर्ण दलका नेताहरुलाई निवेदन गर्न चाहान्छु- यो समस्याबाट देशलाई मुक्त गर्न अगाडि बढ्नको लागि अनुरोध गर्दछु ।’
यसअघि कांग्रेस सांसद संजय गौतमले पनि राष्ट्रिय सहमतिको सरकार गठनको आवश्यकतामाथि जोड दिएका थिए । अहिलेको निर्वाचन प्रणाली र शासन व्यवस्थाले स्थिरता नदिने दाबी गर्दै उनले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका थिए ।
टिप्पणीहरू