भारतीय चुनावमा वामपन्थीहरुको झिनो सुधार

भारतीय चुनावमा वामपन्थीहरुको झिनो सुधार

भारतीय लोकसभा निर्वाचनको मतगणना जारी रहँदा वामपन्थीहरुले आफ्नो अवस्थामा झिनो सुधार गरेका छन् । सन् २०१९ मा जम्मा ३ सिट जितेका वामपन्थी पार्टीहरुको यसपटक ९ सिटमा अग्रता छ । 

आज तकका अनुसार मत गणनाको प्रारम्भिक परिणामअनुसार भाकपा (मार्क्सवादी) ले एक जितसहित चार सिटमा अग्रता लिएको छ । त्यस्तै,भारतीय कम्युनिष्ट पार्टी तीन र भाकपा माले लिबरेशन २ सिटमा अगाडि छ ।

कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनमा रहेका वामपन्थीहरुले तमिलनाडु,केरला र बिहार प्रदेशमा आफ्नो अस्तित्व देखाएका हुन् । बिहारको आरा निर्वाचन क्षेत्रमा भाकपा माले लिबरेशनका सुदामा प्रसाद र कारकाटमा राजाराम सिंहको अग्रता छ । 

केरलाको कोझिकोड क्षेत्रमा भाकपा (मार्क्सवादी) का ए विजयराघवन, अलाथुरमा के. राधाकृष्णन अगाडि छन् । 

तमिलनाडुको नागपट्टीनम क्षेत्रमा भारतीय कम्युनिष्ट पार्टीका सेल्वराज वी र तिरपुरमा सुब्बारायण के ले अग्रता बनाएका छन् । त्यस्तै,डिंडीगुलमा भाकपा (मार्क्सवादी) का सचिथानन्थम आर र मैदुरमा वेंकटेशन एस अगाडि छन् । 

कम्युनिष्टहरुको प्रभाव क्षेत्र मानिएको पश्चिम बङ्गालमा यसपटक पनि वामपन्थीहरु बढारिएका छन् । त्यहाँ उनीहरुले एक सिटमा पनि अग्रता लिन सकेनन् । 

भारतको लोकसभा निर्वाचनमा वामपन्थीले कुनैबेला ५५ सिटसम्म जितेको इतिहास छ ।

टिप्पणीहरू