माधव नेपालको निवासमा समाजवादी मोर्चा र मधेशबारे छलफल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी मोर्चाका अध्यक्ष तथा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेपालको निवास कोटेश्वरमा आज साँझ डेढ घण्टा भएको भेटमा उहाँहरुबीच समाजवादी मोर्चाको अवस्थालगायत विषयमा कुराकानी भएको बुझिएको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर बिक प्रकाण्डसहित नेपाल निवास पुगेका विप्लवले मधेश प्रदेशका मुख्यमन्त्रीले भोलि लिन लागेको विश्वासको मत,एमसीसी परियोजना र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे कुरा गरेको नेकपा स्रोतले बताएको छ ।
हाल मोर्चा अध्यक्ष रहेका विप्लवले उपेन्द्र यादव उक्त समूहबाट अलग्गिने भएपछिको अवस्था, संक्रमणकालीन न्यायसम्बन्धी कानुन,शान्ति प्रक्रियाका बाँकी कार्यभार र आफ्ना नेता तथा कार्यकर्तामाथि जारी भएका पक्राउ पूर्जीलगायत विषयमा नेता नेपालसँग कुराकानी गरेका थिए ।
भोलि मधेश प्रदेशका मुख्यमन्त्रीले प्रदेश सभामा लिन लागेको विश्वासको मतसम्बन्धी प्रस्ताव र प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा बन्नसक्ने नयाँ गठबन्धनबारे पनि चर्चा भएको बताइन्छ ।
टिप्पणीहरू