बालेनको पक्षमा उभियो कांग्रेस, जोरी नखोज्न एमाले अध्यक्षलाई सुझाव
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस न्युरोडको फुटपाथ विस्तारको पक्षमा उभिएको छ । आज प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरुले आफ्नो अधिकार क्षेत्रभित्र रहेर महानगरले गरेका काममा संघीय सरकारले भाँजो हाल्न नहुने बताएका हुन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी रहेको जनाउँदै महानगरका मेयरलाई निर्वाध काम गर्न दिनुपर्ने धारणा राखे । 'बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ', उनले भने ।
न्युरोडको फुटपाथ विस्तारलाई लिएर मेयर बालेन्द्र साहसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले जोरी खोजेको भन्दै उनले असन्तुष्टि जनाए । संघ र स्थानीय तहबीच विवाद हुँदा संघीय सरकार बढी संयमित हुनुपर्ने पनि शर्माको भनाई छ ।
‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ । तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस्', उनले भने, 'तर आफैँ सुरिनुभयो बोल्न । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ ।'
कांग्रेसकै अर्का सांसद कान्तिका सेजुवालले पनि मेयर साहलाई काम गर्न दिनुपर्ने बताइन् । महानगरको योजनाअनुसार न्युरोडमा काम अघि बढिरहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रोकेको भन्दै उनले असन्तुष्टि जनाइन् ।
संघबाट यसरी हस्त्केह्प हुँदा स्थानीय सरकार हतोत्साही हुने सांसद सेजुवालको चिन्ता छ । ‘कि स्थानीय सरकार सञ्चालन ऐन खारेज गरौं । स्थानीय तहको जुन संविधानमा परिकल्पना गरिएको छ, त्यो खारेज गरौं । होइन भने उनीहरूलाई काम गर्न किन नदिने ?’ उनले प्रश्न गरिन् ।
न्युरोडको सडकपेटी फराकिलो बनाउने मेयर साहको योजनामा एमाले र कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु विभाजित छन् । २२ नम्बरका वडाध्यक्ष चिनकाजी महर्जन फुटपाथ विस्तारको विपक्षमा रहँदा २४ का वडाध्यक्ष विनोद राजभण्डारीले भने मेयरलाई साथ दिएका छन् ।
यस सन्दर्भमा पछिल्लो कार्यपालिका बैठकमा मेयर साह र वडाध्यक्ष चिनकाजीबीच सवालजवाफसमेत भएको थियो । लगत्तै भोलिपल्ट फुटपाथ फराकिलो बनाउन महानगरले भत्काएको न्यूरोड–इन्द्रचोकतर्फको सडक सडक विभागले टालेको थियो ।
टिप्पणीहरू