विवाद बालेन-चिनकाजीको,स्वाद एमाले,काङ्ग्रेसको
न्युरोड क्षेत्रमा सडकको फुटपाथ बढाउने काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहको योजनामा तगारो बनेका वडाध्यक्ष चिनकाजी महर्जन यतिबेला चर्चामा छन् । सडकको चौढाई घटाएर फुटपाथ बढाउँदा न्युरोडको सांस्कृतिक पहिचान मेटिने तर्क गर्दै १८ जेठको कार्यपालिका बैठकमा उनी मेयरसँग आमनेसामने भएपछि चर्चासँगै विवादमा तानिएका हुन् ।
बैठकमा वडाध्यक्ष महर्जनले फुटपाथ बिस्तार योजनासँगै मेयरको कार्यशैलीप्रति पनि बिमति जनाएपछि भनाभनसमेत भयो । आफ्नो क्षेत्रमा सडकपेटी फराकिलो पार्ने काम अघि बढ्दा आफूले भने पत्रपत्रिका पढेर थाहा पाउनुपरेको भन्दै बालेनमा समन्वय र सहकार्यको अभाव देखिएको गुनासो उनले गरेका थिए ।
कार्यपालिका बैठकमा आक्रोशित हुँदै उनले सोधेका थिए - देशकै पपुलर ल्याण्डमार्क नयाँ सडकमा पेटी बढाउने कुरा मिडियाबाट थाहा पाउनुपर्ने ? यस्तो किन भैरहेको छ ?
मेयर र वडाध्यक्ष बाझाबाझ गरेको भोलिपल्टै पेटी विस्तारका लागि महानगरले कटिङ गरेको सडक बिभागले पिच गरिदियो । त्यसपछि रुष्ट भएका बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक भए । फेसबुकमा स्टाटस लेख्दै उनले गिरीबन्धुको जग्गा घोटालालाई विषयान्तर गर्न राज्य शक्ति लगाएर महानगरको कार्यक्षेत्रमा ओलीले हस्तक्षेप गराएको आरोप लगाए ।
झट्ट हेर्दा मेयर र वडाध्यक्षबीचको सामान्य असमझदारीजस्तो लाग्ने यो विषय ओलीसमेत जोडिएपछि राजनीतिकरणको गन्ध आउन थालेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष र सो पार्टीका अध्यक्ष बालेनसँग पौठेजोरी खेलिरहँदा नेपाली कांग्रेसले आफूलाई फुटपाथ विस्तारको पक्षमा उभ्याएको छ ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले न्युरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी रहेको जनाउँदै महानगरका मेयरलाई निर्वाध काम गर्न दिनुपर्ने धारणा राखेका छन् । 'बालेनले जे गरेका थिए ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ', उनले भने ।
यो विषयलाई लिएर बालेनसँग ओलीले जोरी खोजेको भन्दै असन्तुष्टि जनाएका शर्माले संघ र स्थानीय तहबीच विवाद हुँदा संघीय सरकार बढी संयमित हुनुपर्ने तर्क पनि गरे । काँग्रेसकै अर्का सांसद कान्तिका सेजुवालले पनि बालेनको पक्षमा भनाई राखेकी छन् ।
खासमा नयाँ सडकको फुटपाथ विस्तारको योजनामा बालेन भर्सेस एमालेजस्तो देखिए पनि घटनाक्रमको विश्लेषण गर्दा जस लिने होडबाजीमा दुवै पक्षले अतिरंजनापूर्ण प्रचार गरेको प्रष्ट हुन्छ । सडकको चौढाइ घटाउन हुँदैन भन्ने वडाध्यक्ष महर्जन एमालेबाट निर्वाचित हुन् । जबकि एमालेबाटै मेयर जितेका केशव स्थापितले २०६० सालमै सडकलाई एक लेनको बनाउने योजना अघि सारेका थिए ।
टेकुस्थित महानगर कार्यालयको आफ्नै कार्यकक्षमा उनले उक्त योजना पत्रकारलाई सुनाएका थिए । उक्त विषय समेटिएको समाचार मङ्सिर ७ गतेको गोरखापत्रमा छापिएको थियो । जसमा नयाँ सडकको चौढाई घटाएर एक लेनको बनाउने र बाँकी ठाउँमा पनि ढुंगा छाप्ने स्थापितको योजना उल्लेख गरिएको छ ।
त्यस्तै, न्युरोडको प्रवेशद्वारबाट सवारी साधनलाई निषेध गर्ने, एक लेनको बाटोबाट एम्बुलेन्स र दमकलजस्ता आपतकालीन अवस्थामा प्रयोग हुने गाडीलाई मात्रै जान दिने स्थापितको योजना उल्लेखित समाचार अहिले पनि गोरखापत्र खोजेर पढ्न सकिन्छ । न्युरोड आउने व्यक्तिले आफ्नो सवारी साधन संचयकोष भवनमा पार्क गर्ने व्यवस्था मिलाउने आफ्नो योजना पनि उनले पत्रकारलाई बताएका थिए ।
प्रश्न उठ्छ- सांस्कृतिक शहरका रुपमा चिनिने काठमाडौँको मुटुमा रहेको सडकलाई कस्तो बनाउने भन्ने विषयमा एमालेको धारणा के ? ०६० सालमै न्युरोडको सडक साँघुरो बनाएर फुटपाथ बढाउने आफ्नै पार्टीबाट निर्वाचित मेयरको योजनाको स्वामित्व लिनुपर्छ कि पर्दैन ? काठमाडौँको संस्कृति र ऐतिहासिकतासँग प्रत्यक्ष सरोकार राख्ने यस्तो विषयमा मुलुकको एउटा प्रमुख राजनीतिक दल संवेदनशील हुनु पर्छ कि पर्दैन ?
यसबाट के निष्कर्ष निस्कन्छ भने काठमाडौँको पहिचान जोगाउने चिन्ता नभई कामको जस लिने र आफ्नो भोट बैंक सुरक्षित गर्ने दुवै पक्षको स्वार्थका कारण यो स्थिति सृजना भएको हो । सामाजिक सञ्जालमा व्यापक 'फ्यान फ़लोइङ' कमाएका बालेन त्यसैको बलमा महानगरले गरेका सबै कामको जस लिन तम्सिएपछि वडाध्यक्ष महर्जन प्रतिवादमा उत्रिएको कतिपयले भनिरहेकै अवस्था छ ।
टिप्पणीहरू