बाल मन्दिरका तत्कालीन उपाध्यक्ष सिआईबीको नियन्त्रणमा, अरुलाई पक्राउ पुर्जी

बाल मन्दिरका तत्कालीन उपाध्यक्ष सिआईबीको नियन्त्रणमा, अरुलाई पक्राउ पुर्जी

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनलाई आज नियन्त्रणमा लिएको जनाएको छ ।

सिआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । २०७२ सालमा बाल मन्दिरका तर्फबाट नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीले सेटिङ मिलाएर बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा सस्तो भाडामा दिई दुरुपयोग गरेको आरोप छ । 

यो प्रकरणमा गत वैशाख २७ गते २० जनापछि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको एक महिनापछि श्रेष्ठलाई सिआईबीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पुर्जी जारी भएका अन्यमा संगठनकी तत्कालिन अध्यक्ष रितासिंह वैद्य, उपाध्यक्ष योगेन्द्रबहादुर शाही, पाँच महासचिव गणेशदत्त श्रेष्ठ, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान र रामकाजी कोने, उपमहासचिव सुमन शाक्य, सदस्य एवम् स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन् । 

त्यस्तै, बृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी र चिरञ्जीवी तिवारी, सञ्चालकहरु प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डे छन् ।

टिप्पणीहरू