रविले दुई देशको राहदानी दुरुपयोग गरेको योभन्दा ठूलो प्रमाण अरु के चाहियो श्रीमान ?

रविले दुई देशको राहदानी दुरुपयोग गरेको योभन्दा ठूलो प्रमाण अरु के चाहियो श्रीमान ?

सर्वोच्च अदालतको भावी प्रधान न्यायाधीशका रुपमा चर्चा गरिएका महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई आफ्नै निर्णय भारी पर्ने देखिएको छ । छिट्टै सर्वोच्च छिर्ने तयारीमा  रहेका उनले महान्यायाधिवक्ता पदको चरम दुरुपयोग गर्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र राहदानी दुरुपयोगसम्बन्धी कसूरमा उजुर दर्ता नभएको पत्र लेखाएर र मुद्दा नचल्ने निर्णय गरेर अप्ठेरोमा परेका हुन् । 

सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीश नियुक्ति प्रक्रिया थाल्न भित्रभित्रै तयारी चलिरहँदा एउटा पक्षले यो विषय जोडदार ढंगले उठाउने तयारी गरेको बुझिएको छ । चार जना न्यायाधीश नियुक्त हुँदा कानून व्यवसायीबाट एक जना पर्ने र त्यसमा प्रधानमन्त्री प्रचण्डको चाहनाबमोजिम पोखरेलको सम्भावना उच्च रहेको भनिंदा रविलाई 'उम्काउने' गरी मुद्दा नचलाउने आफ्नै निर्णय तगारो बन्ने देखिएको हो । 

अर्कोतिर,सहकारी ठगी प्रकरणमा कहीं कतै उजुर परेकै छैन भनेर गृहमन्त्री लामिछानेलाई 'क्लिन चिट'को पत्र दिने उनको "करुण हृदय" विरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ । त्यस्तै,राहदानी दुरुपयोगमा मुद्दा चलाउन नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको मुद्दाउपर जेठ २९ लाई पेशी तोकिएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार मुद्दा विचाराधीन रहेकाले यसै पनि उनी न्यायाधीश सिफारिस हुने सम्भावना कमजोर छ । 

"अध्यागमनको विवरणमा दुइटा मुलुकको राहदानीमा निरन्तर विदेश यात्रा गरेको खुलिसक्दा पनि नेपाली राहदानी दुरुपयोग नभएको भन्ने निर्णय कुन आधारमा गरिएको हो ? कास्कीमा सहकारी ठगीको उजुरी दर्ता हुँदाहुँदै किन छैन भनी ढाँटेर रविलाई चिठी थमाउनु भयो ?

महान्यायाधिवक्ताले मुद्दा चलाउन नपर्ने निर्णय गरेता पनि रवि लामिछानेले सन् २०१४ देखि गत वर्षसम्म दुई देशको राहदानी प्रयोगमा ल्याएको तथ्य र प्रमाण सार्वजनिक भैसकेको छ । प्रेस काउन्सिलले कडा कार्वाही गर्ने भएपछि २८ जुन २०१८ मा अमेरिकी नागरिकता परित्याग गर्न बाध्य भएका उनले सन २०१४ देखि २०२२ वीच लगातार दुइटा पासपोर्ट लिएर धेरै देशको यात्रा गरेको अध्यागमनको यात्रु विवरणबाट प्रष्ट हुन्छ । 

अध्यागमनको ट्राभल हिस्ट्री हेर्दा सन् २०१४ देखि लगातार ५१२९६६९८१ नम्बरको अमेरिकी पासपोर्ट प्रयोग गर्दै आएका रविले जुन १८ मा अमेरिकी नागरिकता त्यागेपछि पनि सोही राहदानी प्रयोग गरेर विभिन्न देशको यात्रा गरेको देखिन्छ ।

त्यसपछि उनले ठाउँ हेरी नेपाली र अमेरिकी दुवै राहदानीमा विदेश आउजाउ गरे । अमेरिकी राहदानी देखाएपछि एयरपोर्टमै अनअराइभल भीसा पाइने मुलुकको यात्रा गर्दा उनले अमेरिकी राहदानी प्रयोग गरेको देखिन्छ । कतारमा आत्महत्या गरेकी गोरखाकी गीता गुरुङको केस उछाल्ने भनी दोहा जाँदा उनले अमेरिकी राहदानी प्रयोग गरेका थिए । अमेरिकी पासपोर्ट लिएर नेपाली नागरिकको हैसियतमा कतार पुगेका उनले त्यसबेला नेपाली दूतावासमा पत्रकार सम्मेलन भन्दै बबाल मच्चाएपछि कतार सरकारले समात्ने तयारीसमेत गरेको थियो । त्यसपछि भागेर नेपाल फर्किएका उनी नेपाली पासपोर्टमा जापान गए । संगसंगै २०२२ जनवरी १६ सम्म उनले नेपाली राहदानी पनि प्रयोग गरिरहे । जबकि रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि पोहोर मात्र विधिवत नेपाली नागरिकता लिएका र पुरानो राहदानी बुझाएका हुन् ।

त्यसो त,लामिछानेले दोहोरो राहदानी प्रयोग गर्दै आएको सरकारी निकायहरुले त्यतिबेलै स्वीकार गरेका थिए ।

प्रेस काउन्सिलले गृह मन्त्रालय,अध्यागमन,श्रम र सूचना  विभागलगायतका सरकारी निकायलाई यसबारे सोधखोज गर्दा उक्त कुरा प्रत्यक्ष-परोक्ष रुपमा स्वीकारेको देखिन्छ । जस्तो, २०७५ असार ७ गते गृह मन्त्रालयले काउन्सिललाई  लेखेको पत्रमा अमेरिकी राहदानी बाहक भनेर लामिछानेलाई सम्बोधन गरिएको छ ।

पासपोर्ट नम्बर ५१२९६६९८१ समेत खुलाई लेखेको पत्रमा विदेशी नागरिकले नेपालमा पत्रकारिता गर्न पाउने कानुनी व्यवस्था नरहेको व्यहोरा उल्लेख  छ । त्यस्तै,श्रम विभागले लामिछानेको हैसियत विदेशी नागरिकका रुपमा स्वीकार गर्दै श्रम स्वीकृति नलिएको जानकारी प्रेस काउन्सिललाई गराएको थियो ।  

रविकै जस्तो केशमा एक अढाई वर्षे बालकलाई भने अध्यागमन विभागले कारवाही गरेको नजिर यहाँ उल्लेखनीय छ । घटना वि सं ०७९ सालको हो ।

प्राप्त विवरणअनुसार फिलिपिनो आमा र नेपाली बाबुका छोरा उनी अभिभावकसँगै क्यान्सरले सिकिस्त सानीआमा भेट्न हङकङ भएर मनिला जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर,दुइटा देशको राहदानी कम्प्युटर अभिलेखमा देखिएको भन्दै अध्यागमनले उड्न नदिएपछि रुँदैरुँदै फर्किन बाध्य भए । उनलाई एयरपोर्टबाट डिपोर्टमात्र गरिएन एउटा पासपोर्ट सिज गर्नुका साथै डेढ लाख जरिवाना पनि तिराइयो । 

एउटा व्यक्तिलाई जोगाउन यो हदसम्म गर्न सक्ने तपाईं सर्वोच्चको न्यायाधीश र पछि प्रधानन्यायाधीश बनेपछि केसम्म गर्नुहोला ?

कानुन पालना गराउने सन्दर्भमा अध्यागमनका तत्कालीन डिजी ऋषिराम तिवारीको यो निर्णयलाई अन्यथा भन्न मिल्दैन । तर,'सानालाई ऐन,ठूलालाई चैन' भनेजस्तो मत्स्यन्याय भने गरिनु हुँदैन । एकै कसूरमा कसैले दुइटा देशको पासपोर्ट लिएर निस्फिक्री घुमिरहँदा पनि दण्डित हुनु नपर्ने,कसैले चैं विमानस्थलबाटै फर्किनुपर्ने अवस्था किन भयो ? प्रश्न यत्ति हो ।

फेरि प्रश्न महान्यायाधिवक्तातिरै सोझिन्छ- अध्यागमनको विवरणमा दुइटा मुलुकको राहदानीमा निरन्तर विदेश यात्रा गरेको खुलिसक्दा पनि नेपाली राहदानी दुरुपयोग नभएको भन्ने निर्णय कुन आधारमा गरिएको हो ? कास्कीमा सहकारी ठगीको उजुरी दर्ता हुँदाहुँदै किन छैन भनी मुलुकलाई ढाँटेर रविलाई चिठी थमाउनु भयो ? राज्यको तलव सुविधा खाएर न्याय निरुपण गर्नुपर्ने जिम्मेवारीमा रहेको सम्मानित संस्था यसरी पाइला पाइलामा चुकेपछि आम तहबाट यस्ता प्रश्न उठेका छन् । 

यी र यस्ता प्रश्नले अर्को प्रश्न जन्माएको छ -एउटा व्यक्तिलाई जोगाउन यो हदसम्म गर्न सक्ने तपाईं सर्वोच्चको न्यायाधीश र पछि प्रधानन्यायाधीश बनेपछि केसम्म गर्नुहोला ?

टिप्पणीहरू