विमानस्थलको भन्सारबाट छिराइएको सुन पार्किङमा बुझबुझारथ

विमानस्थलको भन्सारबाट छिराइएको सुन पार्किङमा बुझबुझारथ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट सुनसहित चार जना पक्राउ परेका छन् । भन्सार छलेर ल्याइएको अवैध सुनसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामा मोरङका ३१ वर्षीय सरोज कोइराला, रौतहटका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीका २१ वर्षीय मोहमद अरमान र ३७ वर्षीय ज्याउदिन मियाँ हुन् । 

प्रहरीका अनुसार सरोज गएराति कतार एयरवेजको उडानमा काठमाडौं आएका थिए । विमानबाट ओर्लिएपछि आलमलाई सुनको सिक्रीसहित काँचो डल्लो दिने क्रममा उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट २५ ग्रामको एउटा सिक्री र ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो बरामद गरिएको छ । यस्तै, हिजो दिउँसो कतार एयरवेजको उडानबाट काठमाडौं आएका ज्याउदिनले पनि विमानबाट झरेपछि अरमानलाई सुन दिने क्रममा उनीहरुलाई प्रहरीले समातेको हो । 

उनीहरुको साथबाट ५० ग्रामको एक थान सुनको सिक्री प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको निम्ति भन्सार कार्यालय पठाइएको छ ।
 

टिप्पणीहरू