गुप्तचरकै हाकिमको शैक्षिक प्रमाणपत्र नक्कली

गुप्तचरकै हाकिमको शैक्षिक प्रमाणपत्र नक्कली

राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार भारतको बोधगयास्थित मगध विश्वविद्यालयबाट स्नातक तह (बीए) उत्तीर्ण गरेको नक्कली योग्यताको प्रमाणपत्र पेश गरेर उनी विभागको अनुसन्धान अधिकृतमा बढुवा भएका थिए । 

त्यसपश्चात माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल विभागअन्तर्गत उपअनुसन्धान निर्देशक पदमा रही सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा चौधरीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

टिप्पणीहरू