सांसद अनुदानको रकममा रजाइँ गर्नेहरु अख्तियारको फन्दामा

सांसद अनुदानको रकममा रजाइँ गर्नेहरु अख्तियारको फन्दामा

सिराहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष र उपाध्यक्ष दुबैजना भ्रष्टाचारमा तानिएका छन् । सांसद अनुदानको रकम घोटाला गरेको आरोपमा पालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव र उपाध्यक्ष शोभाकुमारी यादवविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरुसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता भएको छ । मुद्दा चलाइएकाहरुमा त्यसबेलाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव, योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादवसमेत छन् । 

त्यस्तै, वडा नम्बर २, ४ र ५ का तत्कालिन वडाध्यक्षहरु क्रमशः खुशीलाल साह, मदन यादव र मनोजकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनाराण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि मुद्दा दायर भएको छ । 

उनीहरुमाथि नवराजपुर गाउँपालिका–२ मझौरामा राम जानकी दलित आधारभूत विद्यालयको अधुरो काम पूरा गर्नका लागि सांसद अनुदानबाट प्राप्त रकम आपसी साँठगाँठमा हिनामिना गरेको अभियोग छ । आर्थिक वर्ष २०७७-०७८ मा विद्यालयको अपुरो कार्य पूरा गर्ने योजनामा विद्यालय भवनको काम नै नगरी किर्ते कार्य सम्पन्न प्रतिवेदन बनाएर १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी लिने-दिने कार्य भएको अख्तियारले दाबी गरेको छ । 

अख्तियारले दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुरमा कैद र जरिवानासहित उक्त रकम आरोपितबाट जफत गर्न मागदाबी लिइएको छ । 

अध्यक्ष, उपाध्यक्ष र तीनैजना वडाध्यक्ष २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । मदन यादव अहिले पनि वडाध्यक्ष छन् ।

टिप्पणीहरू