बाबुरामका माननीयको पद नबच्ने पक्का

बाबुरामका माननीयको पद नबच्ने पक्का

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का नेता तथा गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटाको पद धरापमा परेको छ । संसदीय दलको ह्विप उल्लङ्घन गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका उनको पद कानुनत: संकटमा देखिएको हो । 

गत निर्वाचनमा नेसपाले देशभर माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार उठाएको थियो । सोहीअन्तर्गत 'हँसिया हथौडा'बाट लडेका देवकोटाले सांसद जिते । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानले यसरी संयुक्त रुपमा चुनाव जित्ने सांसद त्यसमध्येको ठूलो दलको संसदीय दलमा आवद्ध हुनुपर्ने किटान गरेको र त्यस्तो सांसदलाई ह्विप लाग्ने भएकाले हिजो 'फ्लोर क्रस' गरेका उनको पद जाने अवस्था बनेको हो । 

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा सोभन्दा बढी दलले एकल चिन्हमा चुनाव लड्न पाउने व्यवस्था छ ।  उपदफा (१)मा भनिएको छ-दफा ४८ बमोजिम निर्वाचनको प्रयोजनको लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिन्ह वा अन्य कुनै निर्वाचन चिन्हलाई लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने छन् ।

तर,त्यसको लगत्तै मुनि उपदफा (२)मा त्यसरी संयुक्त रुपमा एकल चिन्हबाट चुनाव लड्न चाहने कुन दलसँग सम्बन्धित हो त्यो पनि खुलाउनुपर्नेछ भनिएको छ । सांसद देवकोटाले माओवादीको चिन्हबाट चुनाव जिते पनि दलको नाम भने नेसपा नै खुलाएका छन् । यही व्यवस्था समातेर देवकोटा र बाबुराम भट्टराईले संसदीय दलको ह्विप नलाग्ने तर्क गरेको पाइन्छ ।  

तर,ऐनमा जुन दलले बढी सीट प्राप्त गर्छ,त्यसको नाममा एउटा मात्र संसदीय दल गठन हुने प्रष्ट भनिएको छ । उपदफा (३)मा भनिएको छ- यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यस दफा बमोजिम दुई वा दुईभन्दा बढी दल संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन  र यसरी संयुक्त रुपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरु सो संसदीय दलको सदस्य भएको मानिनेछ ।

ऐनको यो व्यवस्थाले नेसपाका नेता देवकोटा माओवादी केन्द्रको संसदीय दलको सदस्य रहेकोमा अन्यौल हुनुपर्ने देखिंदैन । तर,अब कस्तो अवस्थामा सांसदहरुलाई संसदीय दलको नेताले कारवाही गर्न सक्छ ? दफा ४९ कै उपदफा (४) ले सो कुरा स्पस्ट पारेको छ ।   जहाँ उपदफा ३ बमोजिम संसदीय दलको सदस्यले दफा २८ को उपदफा (१) बिपरितको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिनेछ भनिएको छ ।    

उपदफा २८ मा सांसदहरुलाई ह्विप सम्बन्धी व्यवस्था छ । सो दफाको उपदफा १, २ र ३ मा कस्तो अवस्थामा सांसदहरुलाई ह्विप लाग्ने र उल्लङ्घन गरे कारवाही हुने भन्ने खुलाइएको छ । संसदमा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्ताव, नीति तथा कार्यक्रम, बजेट र  राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य कुनै विषयमा दलले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन सक्नेछ ।    

संसदीय दलले जारी गर्ने निर्देशन प्रत्येक सदस्यले पालना गर्नुपर्ने र पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई बुझाउने ऐनमा उल्लेख छ ।  

माओवादी केन्द्रले ऐनको यही प्रावधानमा टेकेर सांसद देवकोटामाथि कारवाही प्रक्रिया शुरु गर्ने जनाइसकेको छ । सो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीले ह्वीप जारी गरिसकेपछि त्यसको उल्लङ्घन गर्नु संविधान र कानूनविपरित भएकाले कारवाही अघि बढाउने स्पस्ट पार्नुभएको छ ।
 

टिप्पणीहरू