भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोह जेलभित्रैबाट हेरे तीन सांसदले

भिडियो स्रोतः आजतक

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा आफ्नो दल सम्मिलित गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथग्रहण गरिसकेका छन् । यसअघि दुईपटक एक्लै बहुमत ल्याएको भारतीय जनता पार्टी ‘भाजपा’ लाई भारतीय मतदाताले यसपटक गठबन्धनमा बाँधिन बाध्य पारे ।

पहिले सन् २०१४ र दोस्रो पटक २०१९ मा प्रधानमन्त्री बनेका मोदीले पहिलो पटक गठबन्धन सरकारको अनुभव गर्दैछन् । यो पनि अन्तर्राष्ट्रियस्तरमा चर्चाको विषय बनेको छ । यस पटकको निर्वाचनमा भारतीय राष्ट्रिय काँग्रेसले उल्लेखनीय प्रगति गरेको छ । ९९ सीटमा जीत हासिल गरेर काँग्रेस दोस्रो ठूलो दल बनेको छ । 

लोकसभामा यस पटक धेरै नयाँ अनुहार पुगेका छन् । ठूला र नाम चलेका नेतालाई हराएर जेल जीवन बिताइरहेकाहरु समेत निर्वाचित भएका छन् । जेलभित्रैबाट उम्मेदवारी दिएकाहरुलाई भारतीय जनताले अत्यधिक मतले जिताएका हुन् । तीमध्ये तीन अनुहार अहिले सबैभन्दा बढी चर्चामा छन् ।

उनीहरुको जीतपछि भारतीय सञ्चारमाध्यमहरुले लोकतन्त्रको ‘हार’ भएको टिप्पणी गरिरहेका छन् ।

मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका नेतालाई हराएर जेलमा सजाय भुक्तान गरिरहेका एक इञ्जिनियर विजयी भएका छन् । तिहाड जेलमा रहेका शेख अब्दुल रसिदले जम्मु–कश्मिरका पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाहलाई पराजयको स्वाद चखाएका हुन् । 

मुलुकको गम्भीर सूचना चुहाएको र आतंकवादीहरुलाई आर्थिक सहयोगसँगै गैरकानुनी गतिविधि गरेको आरोप लागेका उनी सन् २०१९ मा जेल चलान भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनको जेलबाटै चुनावी अभियान जोडतोडका साथ चल्यो । छोराहरुले चुनावी अभियान चलाए । रसिदले बारामुल्ला क्षेत्रमा आफ्ना प्रतिद्वन्द्वीभन्दा एक लाख मत बढी पाए । 

पञ्जाबको खादुर साहिब लोकसभा सीटबाट स्वतन्त्र उम्मेदवार बनेका अमृतपाल सिंह पनि यस पटक विजयी भएका छन् । खालिस्तानी समर्थक एवम् संदिग्ध आतंककारीको रुपमा परिचित उनी अहिले असामको जेलमा छन् । जेलभित्रैबाट चुनाव लडेका उनले ‘आइपिएस’ को जागिर छोडेर राजनीतिमा आएकालाई हराएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई झण्डै दुई लाख मतान्तरले हराए । 

त्यस्तै, पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको अंगरक्षक रहेका बेअन्त सिंहका छोरा सरबजीत सिंह खाल्सा पनि लोकसभामा निर्वाचित भएका छन् । गान्धीको हत्याको आरोपमा पञ्जाबको फरिदकोट अदालतबाट सजाय सुनाइएका उनले आफ्नो प्रतिद्वन्द्वीलाई झण्डै ७० हजार मतान्तरले हराएका हुन् । उनीहरुको जीतपछि भारतीय सञ्चारमाध्यमहरुले लोकतन्त्रको ‘हार’ भएको टिप्पणी गरिरहेका छन् ।

टिप्पणीहरू