वैदेशिक रोजगारीको प्रलोभनमा १५ करोड ठगी

वैदेशिक रोजगारीको प्रलोभनमा १५ करोड ठगी

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभनमा सयौं व्यक्तिबाट करोडौं ठगी गरेको गिरोह पक्राउ परेको छ ।

कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्सलगायत विभिन्न मुलुक पठाइदिने नाममा वर्षौदेखि ठगी गर्दै आएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । राजधानीको टोखा बस्दै आएका चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्की घर भएका २२ वर्षीय नवीन विक र २३ वर्षीय पवन पन्त पक्राउ परेका हुन् । 

उनीहरुले विदेश पठाइदिने नाममा विगत तीन÷चार वर्षदेखि ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो गिरोहले हालसम्म तीन सयभन्दा बढी नेपाली नागरिकबाट प्रतिव्यक्ति पाँच लाखदेखि १० लाख उठाएर १५ करोड रुपैयाँ ठगेको पाइएको छ । 

उनीहरुले फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा नक्कली आईडी बनाई विभिन्न  देशमा आकर्षक तलब भत्तासहितको रोजगारी रहेको विज्ञापन गरेर ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू