दुई दशकपछि भेटिए कर्तव्य ज्यान मुद्दाका फरारहरु

दुई दशकपछि भेटिए कर्तव्य ज्यान मुद्दाका फरारहरु

कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका दोलखाको मेलुङ गाउँपालिका–१, घर भएका ७२ वर्षीय केदार भन्ने दुर्गबहादुर दमाई र ५३ वर्षीय साधुराम भन्ने खड्गबहादुर दमाई समातिएका हुन् । 

उनीहरु दुवैलाई कर्तव्य ज्यान मुद्दामा २०५३ माघ २५ गते दोलखा जिल्ला अदालतबाट सर्वस्त्रसहित जन्मकैदको सजाय सुनाइएको थियो । तर, कैद भुक्तान गर्ने क्रममा कारागार व्यवस्थापन विभागको २०५६ फागुन १६ गतेको पत्रानुसार राष्ट्रिय प्रजातन्त्र दिवस, २०५६ को उपलक्ष्यमा सोही वर्षको चैत ७ गते उनीहरु कैदमुक्त भएका थिए । 

पीडित पक्षले उक्त फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि जिल्ला अदालतको फैसला सदर भएको हो । सर्वोच्चको फैसलापछि फरार भएका उनीहरुलाई हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–६, बाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले ११ वर्ष चार महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ । दुवै जनालाई फैसला कार्यान्वयनका निम्ति जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू