सलाईको बट्टाभित्र लागूऔषध

सलाईको बट्टाभित्र लागूऔषध

काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–९, घर भएका २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापालाई प्रहरीले पक्रेको हो । 

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो उनीहरुलाई चन्द्रागिरी नगरपालिका–२, नागढुंगाबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार नागढुंगास्थित चेक प्वाइन्टमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरु लागूऔषधसहित फेला परेका थिए । 

उनीहरुले बोकेको खरानी रङको झोलामा सलाईको बट्टामा प्लास्टिकभित्र दुई ग्राम खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू