काठमाडौंबाटै वंशजको आधारमा नागरिकता लिने भारतीयहरुको प्रयास

काठमाडौंबाटै वंशजको आधारमा नागरिकता लिने भारतीयहरुको प्रयास

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिन खोजेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बस्दै आएका भारतीय नागरिक ५१ वर्षीय हरियोम भन्ने हरिओम गुप्ता, २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय हर्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ऋषि र हर्ष हरिओमका छोराहरु हुन् । राजधानीमै व्यापार व्यवसाय गर्दै आएका आफ्ना बुबालाई बेपत्ता बनाई भारतीय नागरिक भएको तथ्य लुकाएर ऋषि र हर्षले वंशजको आधारमा नेपाली नागरिकता लिन झुट्टा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारामसमेत पेश गरेको पाइएको प्रहरीले जनाएको छ । 

सो कार्यमा हरिओमको पनि संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई हिजो नियन्त्रणमा लिएको हो । नागरिकता ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू