बृद्ध भत्ताको रकममा लामो हात गर्नेहरु अख्तियारको फन्दामा

बृद्ध भत्ताको रकममा लामो हात गर्नेहरु अख्तियारको फन्दामा

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइंटेल भ्रष्टाचारमा तानिएका छन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम अपचलन गरेको अभियोगमा उनीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकाहरुमा तत्कालिन वडा सचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालिन प्रशासकीय अधिकृत सुनिल पौडेल, नायब सुब्बा रमेश कोइराला, वडा नम्बर ६, निवासी मेगदिप पोखरेल, तारादेवी पोखरेल र भक्तकुमारी लुईटेल छन् । 

अख्तियारका अनुसार उनीहरुले आपसी मिलेमत्तोमा बृद्ध भत्ता प्राप्त गर्न योग्य नरहेका व्यक्तिलाई समेत लाभग्राहीको सूचीमा राखेर अनियमितता गरेको खुलेको छ । त्यसनिम्ति नागरिकतामा भएको साविकको जन्ममिति फेरबदल गरी गलत लिखत तयार पारेको समेत अनुसन्धानबाट पत्ता लागेको छ ।

अख्तियारले दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरअनुसार फरक-फरक बिगो मागदाबी गरिएको छ । जसअनुसार वडाध्यक्ष लुइटेलविरुद्ध एक लाख ६० हजार, वडा सचिव कल्पना बास्कोटासहित स्थानीय मेगदिप पोखरेल र तारादेवी पोखरेलउपर एक लाख ४४ हजार र भक्तकुमारी लुईटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । 

त्यस्तै, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालिन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालालाई भने गलत लिखतसम्बन्धी कसुरमा कैद र जरिवानाको सजाय माग गरिएको छ ।

टिप्पणीहरू