चैतदेखि बेपत्ता डिएसपीमाथि कारवाहीको तयारी

चैतदेखि बेपत्ता डिएसपीमाथि कारवाहीको तयारी

बलम्बुस्थित नेपाल एफिएफ अस्पतालमा दरबन्दी भएका सशस्त्र प्रहरीका डिएसपी डा.नेत्रबहादुर कार्कीलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । 

लामो समयदेखि गैरहाजिर रहेका उनलाई आज सार्वजनिक सूचना निकालेर गृहले सात दिनभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो । सूचनामा यसअघि पनि पटक–पटक सफाई पेश गर्न अनुरोध गरिएकोमा कार्कीले बेवास्ता गरेको उल्लेख गर्दै पुन: एकपटक अन्तिम मौका दिएको जनाइएको छ । 

सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश नगरे कारबाहीको प्रक्रिया अघि बढाउने गृहले चेतावनीसमेत दिएको छ । 

'तपाईँ (प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक, आईडी नं. १४९२ का डा.नेत्रबहादुर कार्की) लाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) बमोजिमकको कसुरमा ऐ.नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ?', सूचनामा भनिएको छ, 'दिनु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरण पेश गर्न सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १२१ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’

डिएसपी कार्की गत चैत १४ गतेदेखि पूर्वसूचना वा जानकारीबिना कार्यालयमा अनुपस्थित रहेको बताइएको छ ।
 

टिप्पणीहरू