सात वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

सात वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । 

तोकिएको समयामा लाइसेन्स नवीकरण नगरेका सात इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जानकारी दिएको छ । जसमा मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित वशिष्ठ केबल नेट प्रालि, विराटनगर महानगरपालिका–४ मा रहेको इन्फो नेट टेक्नोलोजी प्रालि, जुलाको चन्दननाथ नगरपालिका–६ मा रहेको सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि छन् । 

त्यस्तै, झापाको दमक नगरपालिका–४ स्थित एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको रेसुंगास्थित फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको मिथिला बिहारी नगरपालिका–३ मा रहेको यस नेट नेपाल प्रालि र काठमाडौंस्थित मिथिला डिजिटल नेपाल प्रालिको पनि लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ । 

‘यी सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकाले निज सेवा प्रदायकहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको जानकारी गराइन्छ’, प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।  

लाइसेन्स खारेजीमा परेका सात वटै कम्पनीलाई नियमानुसार तिर्न पर्ने रकमका सम्बन्धमा आगामी तीन दिनभित्र सम्पर्क गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ ।
 

टिप्पणीहरू