निर्देशन तोड्दा दुई फौजीको मृत्यु

निर्देशन तोड्दा दुई फौजीको मृत्यु

सशस्त्र प्रहरी बल,नेपालमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परेर सहायक हवल्दारद्वय महेन्द्र लामा र सञ्जय बलको ज्यान गएको हो । 

नुवाकोटको ककनीस्थित युएन तालिम शिक्षालयमा सेमु हतियार तालिममा तालिमरत उनीहरुको हिजो मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सशस्त्रका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए । हिजो दिउँसो सवा ३ बजे मोटरसाइकलमा शिक्षालयतर्फ फकिँदै गरेका उनीहरु काठमाडौंको तारकेश्वर नगरपालिका ३, तीनपिप्लेनेर दुर्घटनामा परेका थिए । 

उनीहरु सवार मोटरसाइकल सडकबाट करिब १५ मीटर तल खसेको थियो । गम्भीर घाइते भएका उनीहरुलाई तत्काल बालाजुस्थित सिल्भर लाइन अस्पताल पुर्याइएको र उपचारका क्रममा महेन्द्रको सोही अस्पतालमा मृत्यु भएको हो । 

यता,सञ्जयलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो । उनको चाहिँ हिजो साँझ सवा ७ बजे मृत्यु भएको बताइएको छ । उनीहरुको पोस्टमार्टम गरेर शव परिवारलाई बुझाइएको डिआइजी न्यौपानेले जानकारी दिए । 

‘उहाँहरु तालिम गर्दै हुनुहुन्थ्यो । काठमाडौंबाट फर्केर तालिम केन्द्र जाने क्रममा घटना भएको रहेछ । दुवैको हिजो उपचारको क्रममा निधन भएको हो । उहाँहरुको शव आज पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइयो । दुवै लामा भएकाले स्वयम्भूस्थित गुम्बामा दाहसंस्कार हुँदैछ’, उनले भने । 
तालिमरत प्रशिक्षार्थीहरुलाई मोटरसाइकलको प्रयोगमा निषेध गरिएको छ । समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयको निर्देशनविपरीत उनीहरुलाई मोटरसाइकल चलाउन दिएका थिए । 

उनले नियमविपरीत मोटरसाइकल चलाउन दिएकाले हिजोको घटना घटेको ककनीमा कार्यरत एक अधिकृतले बताए । यसबारे डिआइजी न्यौपाने भन्छन्,‘हो,मोटरसाइकल चलाउन पाइँदैन । गाडी प्रयोग गर्नुपर्छ । तर,काम परेपछि मोटरसाइकल चलाउन दिइएको हो ।’

टिप्पणीहरू