सहकारी घोटाला छानबिन समितिले अब काम थाल्ने

सहकारी घोटाला छानबिन समितिले अब काम थाल्ने

सहकारी संस्थामा भएको बचत हिनामिना छानबिन गर्न गठित संसदीय विशेष समितिले कार्यसूची तय गरेको छ ।

आज बसेको समिति बैठकले कार्यविधि पारित गर्दै कार्यसूची निर्धारण गरेको छ । सहकारी ठगी छानबिनसम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग आवश्यक छलफल गरी आजको बैठकबाट कार्यविधि पारित गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए । 

निर्धारित कार्यसूचीअनुसार पहिलो चरणमा संघीय सहकारी मन्त्रालय, विभाग, बोर्ड र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका सरोकारवाला निकायहरुसँग छलफल गर्नेछ । त्यस्तै, बचत अपचलन र सहकारीको समग्र अवस्थाका बारेमा जानकारी लिने र त्यसआधारमा थप सूचना र तथ्य संकलन गर्ने कार्यसूचि पनि तय गरेको विशेष समितिले जनाएको छ ।

समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरु र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीहरुको तथ्य संकलन गर्ने उल्लेख छ । कार्यविधि पारित भएसँगै अब समितिले औपचारिक रुपमा काम अघि बढाउने जानकारी दिइएको छ ।

‘कार्यविधि जुन हामीले बनाएका छौं । त्यसले हामीलाई काम गर्ने धेरै बाटोहरु तय गरेको छ । हामीलाई सजिलो बनाएको छ । त्यसअन्तर्गत हामीले पहिलो छलफल संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु गर्नेछौं’, उनले भने । 

सहकारी सम्बन्धी विगतका प्रतिवेदनहरु अधिकांश विशेष समितिमा आइसकेको र बाँकी छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत गराइएको सभापति थापाले बताए । जेठ १५ गते गठित समितिलाई तीन महिनाको कार्यअवधि तोकिएको छ ।

टिप्पणीहरू